ad
विचार/ ब्लग

सहिष्णुताको खोजी: अबको बाटो सहअस्तित्वको

  • टेकराज ढुंगाना

  • २०८३ असार ७ आइतबार

टेकराज ढुंगाना । ​स्थानीय तहको निर्वाचन उत्कर्षमा थियो। गाउँका चोक, चौतारा, चियापसल र घरआँगनहरू राजनीतिक बहसले गर्माएका थिए। कतै विकासका एजेन्डामाथि मन्थन हुन्थ्यो, कतै आश्वासनका पोकाहरू बाँडिन्थे। आमसभाहरूमा दलीय नाराबाजी, तालीको गडगडाहट र भाषणको कोलाहल नियमित जस्तै बनिसकेको थियो।


Advertisement

​त्यस्तै चुनावी माहोलको एक दिन, मङ्गलसेन–१३ स्थित बस्तीको मध्यभाग अर्थात् वडाको केन्द्रमा रहेको बडिरुख नजिकै, हाम्रो पुरानो घरअगाडि एउटा चुनावी सभा आयोजना गरिएको थियो। गाउँलेहरूको ठूलो उपस्थिति थियो। तर, त्यो सभा केवल राजनीतिक घोषणापत्र सुनाउने थलो मात्र रहेन; त्यसले एउटा शान्त समाजमा अनपेक्षित वैचारिक कम्पन पैदा गरिदियो।

​सभालाई सम्बोधन गर्दै स्थानीय तहको प्रमुख पदका एक उम्मेदवारले भीडतर्फ इसारा गर्दै अचानक मेरा तीन जना जिजुबाजे, विशेषगरी स्वर्गीय रूपानन्द उपाध्याय (सन्यासी) को नाम उच्चारण गर्नुभयो। उहाँले आक्रोशित स्वरमा भन्नुभयो—

“यो सन्यासी बाहुनको घर मात्रै होइन, हामी सोझा–सिधा मानिसहरूका लागि विगतमा एउटा जेल पनि थियो। अब हामीले यसको बदला लिनुपर्छ।”

​ती शब्दहरू वायुमण्डलमा गुञ्जियो र सभामा केही क्षण सन्नाटा छायो। केहीले ताली बजाए, केही असमञ्जसमा परे भने केहीले नजर झुकाए। तर, चुनावी जितका लागि फ्याँकिएका ती शब्दहरूले मेरो मानसपटलमा एउटा गहिरो चोट र गम्भीर प्रश्न छोडे— के चुनाव जित्नका लागि बोलिएका यी वाक्यहरू फगत राजनीतिक स्टन्ट मात्र थिए कि समाजमा सामाजिक द्वेष र प्रतिशोधको बीउ रोप्ने कुत्सित प्रयास?

​विडम्बना, यो प्रवृत्ति त्यतिमै रोकिएन। त्यसको केही समयपछि गाउँकै अर्का एक स्थानीय अगुवाको मुखबाट पनि उस्तै आशय व्यक्त भयो। उहाँले भन्नुभयो ।

“पहिले बाहुनहरूले हामीलाई नोकर बनाए, अब हामीले उनीहरूलाई नोकर बनाउनुपर्छ।”

​यी दुवै अभिव्यक्तिले मलाई गम्भीर आत्मसमीक्षातर्फ धकेले। इतिहासको कुनै कालखण्डमा, कुनै परिस्थितिमा यदि कसैबाट त्रुटि भएको थियो भने, त्यसको सजाय आजको निर्दोष सन्ततिले किन भोग्नुपर्ने? पुर्खाका कर्महरूको हिसाबकिताब वर्तमान पुस्तासँग मागेर समाजले कुन न्यायको स्थापना गर्न खोज्दैछ?

​समयको चक्रसँगै धेरै कुरा बदलिसकेका छन्। हिजोका ती पुर्खाहरू आज हाम्रा बीचमा छैनन्। आज उनीहरूका सन्तान कोही चिकित्सक, कोही इन्जिनियर, कोही शिक्षक, कोही राष्ट्रसेवक कर्मचारी त कोही निष्ठावान् समाजसेवी बनेका छन्। उनीहरू कसैलाई दबाउन वा शासन गर्न होइन, आफ्नो सीप र सामर्थ्यले गाउँ र राष्ट्रको सेवा गर्न संघर्ष गरिरहेका छन्। वास्तवमा, हामी सबै आ-आफ्नो ठाउँबाट जनताकै सेवामा समर्पित छौँ। शिक्षकले चेतनाको ज्योति छरेर, चिकित्सकले स्वास्थ्योपचार गरेर र किसानले अन्न उब्जाएर समाजको रथ हाँकिरहेका छन् भने जनप्रतिनिधिले जनताको विश्वासको जगमा सेवा गर्नुपर्ने हो।

​तर वर्तमान सामाजिक परिदृश्य नियाल्दा, सेवा र सहकार्यको उदात्त भावनाभन्दा प्रतिशोध र विभाजनको संकुचित सोच हाबी हुँदै गएको देखिन्छ। विगतका पुरानो घाउलाई कोट्याएर नयाँ पुस्ताको मस्तिष्कमा घृणाको विष भर्ने प्रयास भइरहेको छ। मानिसलाई मानिसको रूपमा भन्दा पनि जात, समुदाय र राजनीतिक कित्ताका आधारमा वर्गीकरण गर्ने घातक प्रवृत्ति मौलाउँदो छ। यही सोचले समाजलाई बिस्तारै द्वन्द्व र अशान्तिको भुमरीतिर धकेलिरहेको छ।

​जब समाजमा प्रतिशोधको आगो बल्न थाल्छ, तब आपसी अविश्वास, सामाजिक साम्प्रदायिकता र वैमनस्यता जस्ता विकृतिहरूले संस्थागत रूप लिन्छन्। हामीले बुझ्नुपर्छ— घृणाले कहिल्यै शान्ति जन्माउँदैन र प्रतिशोधले कहिल्यै विकास ल्याउँदैन। आगोलाई आगोले होइन, पानीले मात्र निभाउन सक्छ। तसर्थ, समाजमा व्याप्त घृणालाई प्रेमले, प्रतिशोधलाई क्षमाले र विभाजनलाई सहअस्तित्वले मात्र विस्थापित गर्न सम्भव छ।

​अबको बहस “कसलाई तल झार्ने?” भन्ने इर्ष्यामा होइन, “कसरी सबै मिलेर माथि उठ्ने?” भन्ने सामूहिक चेतनामा केन्द्रित हुनुपर्छ। प्रगतिको वास्तविक ढोका शिक्षा, परिश्रम, अनुशासन र सद्भावबाट मात्र खुल्छ; घृणा र बदलाबाट होइन।

​आजको मुख्य आवश्यकता नयाँ पुस्तालाई जातीय द्वेषको विरासत सुम्पिने होइन, मानवता र सहिष्णुताको संस्कार सिकाउनु हो। यदि हामीले आफ्ना सन्ततिलाई “सबैभन्दा पहिले हामी मानिस हौँ” भन्ने सार्वकालिक सत्य बुझाउन सक्यौँ भने मात्र भविष्यको समाज सुन्दर र बस्नयोग्य बन्नेछ। मानिस ठूलो जातले होइन, ठूलो र उदार सोचले हुन्छ। त्यसैले आजको पुस्ताले प्रतिशोध होइन प्रगति, द्वेष होइन मानवता, र विभाजन होइन एकताको बाटो रोजोस्। यही विवेकपूर्ण सोचले मात्र हाम्रो समाजलाई सही र समुन्नत दिशातर्फ अघि बढाउन सक्छ।

ad
  • टेकराज ढुंगाना

  • २०८३ असार ७ आइतबार

सम्बन्धित खबर