ad
समाचार

नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न

  • पहाड खबर

  • २०८३ श्रावण २ शनिबार

अछाम। जिल्लाको कमलबजार नगरपालिका–५ कुइकामा नागरिकको अधिकार, कर्तव्य तथा स्थानीय शासनमा नागरिकको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले नागरिक आवाज र कर्तव्य सम्बन्धी अभिमुखीकरण तथा समिति गठन कार्यक्रम सम्पन्न भएको छ।


Advertisement

वडा अध्यक्ष सत्यराज तिमिल्सैनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम आस्था नेपालको आयोजनामा, कमलबजार नगरपालिकाको समन्वय तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा नागरिक अधिकार र कर्तव्य, स्थानीय सरकारप्रति नागरिकको भूमिका, सुशासन, पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई अधिकारसँगै कर्तव्यप्रति पनि उत्तिकै जिम्मेवार बन्दै स्थानीय शासनलाई थप प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

कार्यक्रमबाट मिनराज उपाध्यायको संयोजकत्वमा ११ सदस्यीय नागरिक आवाज तथा कर्तव्य समिति गठन गरिएको छ। नवगठित समितिले नागरिकको आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, नागरिकलाई आफ्ना अधिकार र कर्तव्यप्रति सचेत बनाउने तथा स्थानीय सरकार र समुदायबीच समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले नागरिक सहभागिता र उत्तरदायित्व अभिवृद्धि गर्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण सुरुवात भएको बताउनुभयो। उहाँले भन्नुभयो, “नागरिक आवाज तथा कर्तव्य समितिको गठन स्थानीय शासनलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण आधार हो। यो अत्यन्तै राम्रो कामको सुरुवात हो। यस समितिले नागरिक र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास र सुशासनका काममा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु।”

उहाँले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा नागरिकको सक्रिय सहभागितामार्फत अभियानलाई सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिनुभयो।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण आस्था नेपालका नम बहादुर बिष्टले गर्नुभएको थियो भने सञ्चालन लोकराज ढकालले गर्नुभएको थियो।

 

ad
  • पहाड खबर

  • २०८३ श्रावण २ शनिबार

सम्बन्धित खबर