‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
-

-
पहाड खबर
- २०८३ असोज २१ बुधबार
अछाम । पञ्चदेवल विनायक नगरपालिकाका विभिन्न स्थानमा बालविवाह, छुवाछुत, सामाजिक विभेद तथा हानिकारक परम्पराविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको ‘नौलो बाटो’ सडक नाटक प्रदर्शन सम्पन्न भएको छ।
जर्मन सरकारको सहयोगमा सञ्चालित Community Empowerment through Gender Transformation Project अन्तर्गत सामुदायिक विकास केन्द्र (CDC) डोटीको पहलमा, जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को आर्थिक सहयोग र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) को प्राविधिक सहयोगमा नाटक प्रदर्शन गरिएको हो। पञ्चदेवल विनायक नगरपालिकाको समन्वय तथा स्थानीय ओटालो थिएटरको आयोजनामा नाटक प्रस्तुत गरिएको थियो।
नगरपालिकाको वडा नं. ६ तोलीको बसन्ती डाँडा, वडा नं. ४ कालिकास्थान तथा नगरपालिकाको प्राङ्गणमा प्रदर्शन गरिएको सडक नाटकले बालविवाह, छुवाछुत, कुरीति, कुसंस्कार, अन्धविश्वास र सामाजिक विभेदविरुद्ध सन्देश प्रवाह गरेको थियो। साथै लैङ्गिक समानता, स्वास्थ्य अधिकार, बाल अधिकार, महिनावारी स्वास्थ्य तथा सरसफाइ, हिंसा, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) लगायतका विषयमा समेत समुदायमा सचेतना अभिवृद्धि गरिएको थियो।
सहभागीमूलक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको नाटकले समुदायमा विद्यमान विभेदपूर्ण सोच र व्यवहार परिवर्तन गर्दै समानता, मानवता र समावेशी समाज निर्माणका लागि सकारात्मक सन्देश दिएको दर्शकहरूले बताएका छन्।
नाटक हेरेका स्थानीय दर्शकहरूले ‘नौलो बाटो’ ले बालविवाह, छुवाछुत तथा सामाजिक विभेदजस्ता समस्यालाई सरल र प्रभावकारी ढङ्गले प्रस्तुत गरेको र यसले समुदायमा सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले सामाजिक कुरीति र विभेदविरुद्ध सचेतना बढाउन सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
यस नाटकको छायाङ्कन तथा सम्पादनको काम सुदूर पहाड मिडिया नेपालले गरेको हो। नाटकलाई प्रत्यक्ष प्रदर्शनमा मात्र सीमित नराखी सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममार्फत समेत सार्वजनिक गरिएकोले विभिन्न स्थानका दर्शकले अनलाइनबाट पनि नाटक हेर्न सक्ने व्यवस्था गरिएको छ। यसले नाटकले उठाएका सामाजिक विषयवस्तु र सकारात्मक सन्देशलाई थप व्यापक समुदायसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
-

-
पहाड खबर
- २०८३ असोज २१ बुधबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने











