ad
समाचार

पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न

  • पहाड खबर

  • २०८३ असोज २७ मंगलबार

अछाम । बालबालिकाको समग्र विकास, संरक्षण तथा समृद्धिका क्षेत्रमा क्रियाशील बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परियोजना परिचयात्मक कार्यक्रम पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।


Advertisement

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, पञ्चदेवल विनायक नगरपालिकाको समन्वय तथा आस्था नेपाल र वाक नेपालको संयुक्त आयोजनामा आइतबार नगर कार्यपालिकाको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हातेमालो परियोजनाअन्तर्गत सन् २०२६ मा सञ्चालन गरिएका विभिन्न क्रियाकलाप, प्राप्त उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सिकाइहरूको समीक्षा गरिएको थियो । साथै सन् २०२७ मा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम तथा भावी कार्ययोजनाका विषयमा सरोकारवालाहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा आस्था नेपालका गोकुल खड्का र वाक नेपालका विष्णु बुढथापाले परियोजनाका गतिविधि, प्रगति, उपलब्धि तथा आगामी योजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणका क्रममा बाल संरक्षण, बालबालिकाको समग्र विकास, समुदायको सहभागिता, स्थानीय तहसँगको सहकार्य तथा परियोजनामार्फत सञ्चालन भइरहेका विभिन्न कार्यक्रमबारे जानकारी गराइएको थियो । साथै आगामी वर्षका गतिविधिलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउन स्थानीय सरकार तथा सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो ।

वाक नेपालका अध्यक्ष मिनबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख हर्कबहादुर रावल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेल, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, नगरपालिकाका विषयगत शाखाका प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगर उपप्रमुख रावलले हातेमालो परियोजनाले नगरपालिकामा बालबालिकाको संरक्षण, विकास र समृद्धिका क्षेत्रमा गरिरहेको काम प्रशंसनीय रहेको बताए । उनले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै बालबालिकाको हितमा नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले परियोजनाको वार्षिक समीक्षा तथा आगामी योजनाबारे जानकारी आदानप्रदान गर्ने कार्यक्रम उपलब्धिमूलक रहेको बताए । उनले यस्ता कार्यक्रमले परियोजनाको प्रगति, उपलब्धि र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न सहयोग पुग्ने उल्लेख गर्दै आगामी गतिविधिलाई स्थानीय सरकारको प्राथमिकतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आस्था नेपालका कार्यसमिति सदस्य खेमराज अधिकारीले संस्थाका तर्फबाट धारणा राख्दै बालबालिकाको समग्र विकास र संरक्षणका लागि स्थानीय सरकार, साझेदार संस्था तथा समुदायबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताए । उनले परियोजनाका गतिविधिलाई थप प्रभावकारी बनाउन सबै पक्षको निरन्तर सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं वाक नेपालका अध्यक्ष मिनबहादुर कुँवरले परियोजनामार्फत सञ्चालन भइरहेका कामहरू स्थानीय सरकारकै उद्देश्य र प्राथमिकतासँग जोडिएका काम भएकाले सबैले अपनत्व लिनुपर्ने बताए । उनले परियोजनाका गतिविधिको नियमित अनुगमन गर्न, कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिन तथा आवश्यक सुझाव र सही मार्गदर्शन प्रदान गर्न जनप्रतिनिधि एवं सरोकारवालाहरूलाई आग्रह गरे । सबै पक्षको साझा प्रयास र सहकार्यबाट मात्रै परियोजनाले अपेक्षित उपलब्धि हासिल गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले हातेमालो परियोजनाले पञ्चदेवल विनायक नगरपालिकामा बालबालिकाको हित, संरक्षण र विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । उनीहरूले परियोजनाका गतिविधिले समुदायमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै आगामी दिनमा स्थानीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव तथा हौसला प्रदान गरेका थिए ।

ad
  • पहाड खबर

  • २०८३ असोज २७ मंगलबार

सम्बन्धित खबर

↑