कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
-

-
पहाड खबर
- २०८३ असोज २६ सोमबार
अछाम । बालबालिकाको समग्र विकास, संरक्षण तथा समृद्धिका क्षेत्रमा क्रियाशील बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, कमलबजार नगरपालिकाको समन्वय तथा आस्था नेपाल र वाक नेपालको संयुक्त आयोजनामा आइतबार नगर कार्यपालिकाको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा हातेमालो परियोजनाअन्तर्गत सन् २०२६ मा सञ्चालन गरिएका विभिन्न क्रियाकलाप, प्राप्त उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सिकाइहरूको समीक्षा गर्नुका साथै सन् २०२७ मा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम र भावी कार्ययोजनाका विषयमा सरोकारवालाहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक मीनबहादुर थापा, आस्था नेपालका गोकुल खड्का र वाक नेपालकी सृजना महरले परियोजनाका गतिविधि, प्रगति तथा आगामी योजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणका क्रममा बाल संरक्षण, बालबालिकाको समग्र विकास, समुदायको सहभागिता, स्थानीय तहसँगको सहकार्य तथा परियोजनामार्फत सञ्चालन भइरहेका विभिन्न कार्यक्रमका विषयमा जानकारी गराइएको थियो । साथै आगामी वर्षका गतिविधिलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउन स्थानीय सरकार तथा सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो ।
कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख शारदा कुँवरलगायत जनप्रतिनिधि, नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै नगर प्रमुख ढकालले हातेमालो परियोजनाले कमलबजार नगरपालिकामा बालबालिकाको संरक्षण, विकास र समृद्धिका क्षेत्रमा गरिरहेको काम प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै बालबालिकाको हितमा नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले हातेमालो परियोजनाले कमलबजार नगरपालिकामा बालबालिकाको क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरेका थिए । उनीहरूले परियोजनाका गतिविधिले बालबालिकाको हित, संरक्षण र विकासमा सकारात्मक योगदान पुर्याइरहेको उल्लेख गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमसहित अघि बढ्न सुझाव तथा हौसला प्रदान गरेका थिए ।
-

-
पहाड खबर
- २०८३ असोज २६ सोमबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने









