तुर्माखाँद गाउँपालिकाले ल्यायो ६२ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट
-

-
कमल बहादुर बुढा
- २०८३ असार १० बुधबार
अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँसभाको १८औँ अधिवेशनको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।
गाउँसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाले जनाएको छ। सोही बैठकमार्फत आगामी आर्थिक वर्षको बजेट पनि सभामा पेश गरिएको हो।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार, सडक तथा भौतिक पूर्वाधार निर्माण, कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धि, सुरक्षित खानेपानीको व्यवस्था र स्थानीय पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई विशेष महत्व दिइएको छ।
बजेटका लागि संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, राजस्व बाँडफाँट, प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान तथा गाउँपालिकाको आन्तरिक राजस्वलाई आयको मुख्य स्रोतका रूपमा समावेश गरिएको छ। बजेट अनुसार संघीय सरकारबाट समानीकरण अनुदानतर्फ ९ करोड ८८ लाख रुपैयाँ, सशर्त अनुदान चालुतर्फ २५ करोड ९५ लाख रुपैयाँ तथा राजस्व बाँडफाँटतर्फ ११ करोड ५० लाख ३१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ८६ लाख ३३ हजार रुपैयाँ, सशर्त अनुदान पुँजीगत ९ करोड ३२ लाख रुपैयाँ, समपूरक अनुदान पुँजीगत १ करोड १८ लाख ६२ हजार रुपैयाँ तथा राजस्व बाँडफाँटतर्फ ३४ लाख ९६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट ४० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
कुल बजेटमध्ये चालु तथा पुँजीगत कार्यक्रम, प्रशासनिक खर्च तथा संघ–प्रदेश साझेदारीका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासका क्षेत्रमा बजेट केन्द्रित गरेको जनाएको छ।
प्रदेश सरकारको समपूरक तथा विशेष अनुदानमार्फत विभिन्न महत्त्वपूर्ण योजनाहरू सञ्चालन गरिने भएका छन्। जसअन्तर्गत वास्कोटा–दहखाडा–स्यालकेरा सडक विस्तार तथा स्तरोन्नतिका लागि १ करोड १९ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै तुर्माखाँद–बहुखोली बहुउद्देश्यीय भवन निर्माणका लागि ६६ लाख ६७ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
विपद् जोखिम न्यूनीकरणतर्फ नसर्ने विपद्बाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधारको पुनःनिर्माण तथा विपद् जोखिम व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको विशेष अनुदानबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा दलित, विपन्न तथा सामाजिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गरी आधारभूत खानेपानी आपूर्ति तथा सरसफाइ योजनाका लागि २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धनका लागि आधुनिक उपकरण, प्रविधि, वित्तीय पहुँच र बजार व्यवस्थापनसँग सम्बन्धित एकीकृत तालिम कार्यक्रम सञ्चालन गर्न २० लाख रुपैयाँ छुट्याइएको छ।
शैक्षिक विकासतर्फ विद्यालयहरूमा सेवा प्रवाह तथा शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि गर्न कम्प्युटर तथा डिजिटल बोर्ड खरिदका लागि संघीय सरकारको विशेष अनुदानबाट ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै स्वीकृत गुरुयोजनाका आधारमा साझेदारीमा विद्यालय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न संघीय सरकारको सशर्त पुँजीगत अनुदानबाट ६० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी.ले प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटले तुर्माखाँदको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित बजेट निर्माण गरिएको बताउनुभयो।
गाउँसभाबाट सर्वसम्मत रूपमा पारित नीति तथा कार्यक्रम तथा बजेटले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। समावेशी विकास, दिगो पूर्वाधार निर्माण तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत ‘समृद्ध तुर्माखाँद’ निर्माण गर्ने लक्ष्यसहित गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम अघि सारेको जनाएको छ।

-

-
कमल बहादुर बुढा
- २०८३ असार १० बुधबार
अपडेट
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न
पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन











