ad
समाचार

मंगलसेन नगरपालिकाले ल्यायो ६४ करोड ४५ लाखको बजेट

  • पहाड खबर

  • २०८३ असार १० बुधबार

अछाम । अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६४ करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभामा नगर उपप्रमुख संगीता रावल सोडारीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।


Advertisement

नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीका अनुसार बजेटमा चालु खर्चतर्फ ४९ करोड रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दिगो पूर्वाधार : आत्मनिर्भर मंगलसेनको बलियो आधार” भन्ने नारालाई सार्थकता दिने उद्देश्यसहित बजेट ल्याएको जनाएको छ। बजेटमा स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।

त्यसैगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई समेत समेटिएको छ। समृद्ध र आत्मनिर्भर मंगलसेन निर्माणका लागि विकासमुखी योजनाको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने नगरपालिकाको लक्ष्य रहेको छ।

नगरपालिकाले अधुरा तथा बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्ने, योजना तर्जुमा, बजेट विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन प्रक्रियाबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउँदै नतिजामुखी कार्यसम्पादन प्रणाली अवलम्बन गर्ने नीति लिएको जनाएको छ। साथै संघ, प्रदेश, निजी क्षेत्र, सहकारी, सामुदायिक संस्था तथा विकास साझेदारसँगको सहकार्यलाई थप मजबुत बनाउँदै उपलब्ध स्रोत–साधनको अधिकतम परिचालनमार्फत समृद्ध, सुशासित र आत्मनिर्भर मंगलसेन निर्माण अभियानलाई तीव्रता दिने नीति लिइएको छ।

बजेटमा नगर क्षेत्रको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण, बजार व्यवस्थापन तथा नगरवासीको सुरक्षालाई थप प्रभावकारी बनाउन नगर प्रहरी परिचालन तथा व्यवस्थापनका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

युवालाई लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको छ। शिक्षा क्षेत्रमा बाल विकास केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको थप तलब तथा अनुदान कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बजेटमा खेलकुद क्षेत्रको विकासलाई समेत विशेष महत्व दिइएको छ। नगरपालिकालाई खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्दै खेलाडी उत्पादन, खेल पर्यटन प्रवर्द्धन तथा आधुनिक खेल पूर्वाधार निर्माण गर्ने उद्देश्यले मंगलसेन बृहत् खेलमैदान निर्माणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी मंगलसेन बजार क्षेत्रको सरसफाइ, वातावरणीय स्वच्छता तथा वर्षायाममा हुने जलजमाव व्यवस्थापनका लागि ३० लाख ५० हजार रुपैयाँ बजेटको व्यवस्था गरिएको छ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वडा नं. ५, ९, ११ र १३ का वडा कार्यालय भवन निर्माणका लागि संघीय सरकारको समपूरक अनुदान साझेदारीमा आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

नगरसभामा प्रस्तुत बजेटमाथि छलफल गरी प्राप्त सुझावलाई समेट्दै कार्यान्वयन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीका अनुसार बजेट वक्तव्य तथा नीति तथा कार्यक्रम नगरपालिकाको आधिकारिक फेसबुक पेजमार्फत समेत सार्वजनिक गरिएको छ।

बुधबार सम्पन्न नगरसभाको कार्यक्रम जिल्लाका विभिन्न सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

ad
  • पहाड खबर

  • २०८३ असार १० बुधबार

सम्बन्धित खबर