ad
समाचार

पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन

  • पहाड खबर

  • २०८३ श्रावण १ शुक्रबार

अछाम । पञ्चदेवल विनायक नगरपालिका–६ तोलीमा नागरिकको अधिकार, कर्तव्य तथा स्थानीय शासनमा नागरिकको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले नागरिक आवाज तथा कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक तथा समिति गठन कार्यक्रम सम्पन्न भएको छ।


Advertisement

वडा अध्यक्ष कमल रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रम आस्था नेपालको आयोजनामा, पञ्चदेवल विनायक नगरपालिकाको समन्वय तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा नागरिक अधिकार र कर्तव्य, स्थानीय सरकारप्रति नागरिकको भूमिका, सुशासन, पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई अधिकारसँगै कर्तव्यप्रति पनि उत्तिकै जिम्मेवार बन्दै स्थानीय शासनलाई थप प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

कार्यक्रमबाट अम्बर बहादुर रावलको संयोजकत्वमा ९ सदस्यीय नागरिक आवाज तथा कर्तव्य समिति गठन गरिएको छ। नवगठित समितिले नागरिकको आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउने, नागरिकलाई आफ्ना अधिकार र कर्तव्यप्रति सचेत बनाउने तथा स्थानीय सरकार र समुदायबीच समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कमल रावलले नागरिक सहभागिता र उत्तरदायित्व अभिवृद्धि गर्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण सुरुवात भएको बताउनुभयो। उहाँले भन्नुभयो, "नागरिक आवाज तथा कर्तव्य समितिको गठन स्थानीय शासनलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण आधार हो। यो अत्यन्तै राम्रो कामको सुरुवात हो। यस समितिले नागरिक र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास र सुशासनका काममा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु।"

कार्यक्रममा हाल वडा नं. ६ मा बालमैत्री स्थानीय शासन घोषणाका लागि विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिँदै बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा नागरिकको सक्रिय सहभागितामार्फत अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमको सहजीकरण आस्था नेपालका नम बहादुर बिष्टले गर्नुभएको थियो भने सञ्चालन लोकराज ढकालले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै नागरिकलाई आफ्ना अधिकार र कर्तव्यप्रति थप सचेत बनाउने तथा स्थानीय शासनमा नागरिकको सक्रिय सहभागिता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

ad
  • पहाड खबर

  • २०८३ श्रावण १ शुक्रबार