सानो प्रयासबाट सुरु भएको सावित्राको प्रेरणादायी कृषि यात्रा
-

-
पहाड खबर
- २०८२ फाल्गुण २५ सोमबार
अछाम। अछाम जिल्लाको दुर्गम भेगमा अवस्थित चौरपाटी गाउँपालिका प्राकृतिक स्रोत र कृषि सम्भावनाले भरिपूर्ण क्षेत्र हो। यहाँका अधिकांश नागरिकको मुख्य जिविकोपार्जनको आधार कृषि नै हो। तर भौगोलिक विकटता, अनियमित वर्षा, माटोको उर्वराशक्ति घट्दै जानु, सिँचाइको अभाव तथा जंगली जनावरबाट हुने बाली क्षतिका कारण किसानहरूले अपेक्षित उत्पादन लिन सकिरहेका छैनन्।
यी चुनौतीका बाबजुद पनि स्थानीय किसानहरू नयाँ प्रविधि र अभ्यास अपनाउँदै आफ्नो जीवनस्तर सुधार गर्ने प्रयासमा छन्। चौरपाटी गाउँपालिका वडा नं. ७ की सावित्रा बोगटी त्यस्तै परिवर्तनको यात्रामा अघि बढेकी एक प्रेरणादायी महिला किसान हुन्।
अछामका धेरै परिवारझैँ सावित्राको परिवारको मुख्य जीविकोपार्जन पनि कृषि नै हो। वर्षौंदेखि उनले सानो जग्गामा परम्परागत तरकारी खेती गर्दै आएकी थिइन्। तर खेतीमा उनी जति मेहनत गर्थिन्, उत्पादन भने त्यति उत्साहजनक हुँदैनथ्यो।
अनियमित वर्षा, सिँचाइको अभाव, माटोको उर्वराशक्ति घट्दै जानु र जंगली जनावरबाट हुने बाली क्षतिले किसानलाई निराश बनाइरहेको थियो। सावित्रा पनि यही चुनौतीसँग जुधिरहेकी थिइन्।
“खेती त गर्थ्यौँ, तर उत्पादन कम हुन्थ्यो। कहिले पानीको समस्या, कहिले किरा रोग, कहिले जंगली जनावरले बाली खाइदिने,” उनी विगत सम्झँदै भन्छिन्।
यही बीचमा BMZ र WHH को आर्थिक सहयोग तथा पिसविन नेपाल, वाक नेपाल र समबिकास नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिलाहरूको सहभागिता (WE-CAN)’ परियोजना चौरपाटी गाउँपालिकामा लागू भयो। यसको उद्देश्य महिलाहरूलाई जलवायु अनुकूल कृषि अभ्यासमा सहभागी गराउँदै पोषण सुरक्षा र आम्दानी सुधार गर्नु हो।
परियोजनाले सावित्रालाई एउटा प्रदर्शनी स्थल स्थापना गर्न आवश्यक सामग्रीहरू उपलब्ध गराइयो। जसमा सिलपाँउलिन त्रिपाल, थोपा सिँचाइका सम्पूर्ण सामग्री, झोलमल (जिवामृत) तयार गर्ने भाँडा, किरा नियन्त्रणका विभिन्न पासो, इन्सेक्ट नेट तथा विभिन्न तरकारीका उन्नत बिउ समावेश थिए।
सामग्री पाएपछि पनि सावित्राका लागि सुरुवात सहज थिएन। प्लास्टिक टनेल निर्माण गर्ने अनुभव थिएन र घरमा पर्याप्त जनशक्ति पनि उपलब्ध थिएन।
यस अवस्थालाई बुझ्दै परियोजनाका कृषि प्राविधिकहरू सावित्राको खेतमै पुगे। उनीहरूले प्लास्टिक टनेल निर्माण, किचन गार्डेनको लेआउट तयार गर्ने, बिउ रोपाइँ, थोपा सिँचाइ जडान तथा झोलमल बनाउने जस्ता अभ्यासहरूमा प्रत्यक्ष सहयोग र प्रशिक्षण प्रदान गरे।
यसले सावित्रालाई केवल नयाँ प्रविधि सिक्ने अवसर मात्र दिएन, आफैंले पनि गर्न सक्छु भन्ने आत्मविश्वास पनि दिलायो।
आज सावित्राको आँगन पहिलेभन्दा फरक देखिन्छ। प्लास्टिक टनेलभित्र टमाटरका बोटहरू हरियालीले भरिएका छन्।
उनले प्लास्टिक टनेलभित्र टमाटर खेती सुरु गरिसकेकी छन्। साथै घरआँगनमै किचन गार्डेन स्थापना गरी विभिन्न तरकारी उत्पादन गर्न थालेकी छन्।
बालीलाई रोग र किराबाट जोगाउन उनले आफैं झोलमल तयार गरेर प्रयोग गर्न थालेकी छन्, जुन उनको जीवनकै पहिलो अनुभव हो।
यसले उनको परिवारलाई ताजा, सुरक्षित र पोषणयुक्त तरकारी घरमै उपलब्ध गराएको छ। उत्पादन बढ्दै जाँदा केही तरकारी बिक्री गरेर आम्दानी बढाउने सम्भावना पनि देखिन थालेको छ।
सावित्रा मुस्कुराउँदै भन्छिन्— “पहिले यस्तो कल्पना पनि गरेकी थिइनँ कि मेरो आँगनमै आफ्नै प्लास्टिक टनेलसहितको तरकारी बगैँचा हुनेछ। परियोजनाले दिएको सहयोग र सिकाइले मेरो आत्मविश्वास बढायो। अब म आफ्नै मेहनतले अझ धेरै उत्पादन गर्ने सोचमा छु।”
उनका लागि यो केवल खेती सुधारको कुरा मात्र होइन, आत्मनिर्भर बन्ने यात्राको सुरुवात पनि हो।
सावित्राको कथा केवल एक किसानको कथा मात्र होइन, जिविकोपार्जन सुधार र पोषण सुरक्षातर्फको यात्राको कथा पनि हो।
सही अवसर, सीप र प्रविधिको पहुँच पाउँदा ग्रामीण महिलाहरूले पनि आफ्नो जीवनमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छन् भन्ने उदाहरण हो यो।
आज सावित्राको टनेलमा फलेका टमाटर केवल तरकारी मात्र होइनन्— ती हुन् आत्मविश्वासका फल, परिवर्तनका संकेत, र भविष्यका सम्भावना।
सावित्राको यो प्रेरणादायी यात्रा चौरपाटी गाउँपालिकाका अन्य किसानका लागि पनि आशा र सम्भावनाको नयाँ सन्देश बनेको छ।
-

-
पहाड खबर
- २०८२ फाल्गुण २५ सोमबार
अपडेट
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न
पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन










