ad

आँसु लुकाएर सङ्गठन हाक्ने बलराम : खस आर्यबाट उम्मेदवार

  • पहाड खबर

  • २०८३ असोज १४ बुधबार

कमलबजारको हावामा यतिबेला चुनावी राप मात्र छैन, आन्तरिक लोकतन्त्रको घनिभूत सङ्घर्ष र शक्ति प्रदर्शनको कोलाहल पनि छ। काङ्ग्रेस अछामको महाधिवेशनले कमलबजारलाई एउटा ठूलो रणमैदानमा परिणत गरिदिएको छ। जता हेर्‍यो, उतै आफ्नै उम्मेदवारहरूको दौडधुप छ, जितको दाबी छ र पदका लागि छिनाझपटी छ। तर, यही कोलाहल र भिडन्तको बीचमा एउटा यस्तो शालिन अनि भावुक अनुहार छ, जसको उम्मेदवारीमा जितको दम्भ होइन, निष्ठा र त्यागको गहिरो छाप देखिन्छ।
​ती पात्र हुन्— बलराम बिष्ट।
​केही दिन अघिसम्म बलरामको गन्तव्य अर्कै थियो। पञ्चदेवल विनायक नगरपालिकाको नगर सभापति बन्ने लगभग निश्चित जस्तै भइसकेको थियो। माथिल्ला तहका नेताहरूको अपार स्नेह र नगरका करिब अढाई सय मतदाता कार्यकर्ताको सर्वसम्मत रुचि उनीतर्फै ढल्केको थियो। हातैमा आइसकेको पद, आफ्नै मेहनतले सिँचेको सङ्गठन र कार्यकर्ताको माया— बलरामका लागि नगर सभापतिको कुर्सी पर्खेर बसेको सहज बुझ्न सकिन्थ्यो ।
तर, राजनीति सधैँ सोचेजस्तो सरल रेखामा हिँड्दैन। नगर सभापतिको दाबी गरिरहेको अर्को पक्षले पद नपाए पार्टी नै छोड्ने, वर्षौँदेखि हुर्काएको सङ्गठन छिन्नभिन्न हुने र आन्तरिक फुटले पार्टीलाई ठूलो क्षति पुग्ने तीतो परिस्थिति सिर्जना भयो। अगाडि एउटा व्यक्तिगत महत्त्वाकांक्षाको कुर्सी थियो भने अर्कातर्फ पार्टी जोगाउनुपर्ने ऐतिहासिक दायित्व।
​बलरामले आफ्नो स्वार्थभन्दा माथि उठेर पार्टीको हित रोजे। "छातीमाथि ढुङ्गा राखेर" भए पनि उनले हातैमा आइसकेको सभापतिको दाबीबाट आफूलाई पछाडि हटाए। आफ्ना प्रतिस्पर्धी ठानिएका कमल रावललाई अँगालो हाले, मुस्कुराउँदै बधाई दिए र सङ्गठन जोगाएको आत्मसन्तुष्टिसहित कमलबजारको बाटो समाते।
​अहिले कमलबजारमा बलराम खस-आर्य कोटाबाट केन्द्रीय प्रतिनिधिको चुनावी मैदानमा छन्। तर, यो लडाइँ उनका लागि सहज छैन। उनको प्रतिस्पर्धा वर्षौँदेखि राजनीतिमा जरा गाडेर बसेका पाका, अनुभवी र शक्तिशाली नेताहरूसँग छ। साना कदमले ठूला पहाडहरूसँग जुध्नुपर्ने यो भिडन्तमा बलराम भने आफ्नो निष्ठाको बलमा मुस्कुराइरहेका छन्।
​२०६० सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को इकाई सभापतिबाट सुरु भएको बलरामको राजनीतिक यात्रा आज नगरको कार्यवाहक सभापति हुँदै यहाँसम्म आइपुगेको हो। पद पाउँदा मात्तिने र जमिन छोडेर आकाशमा उड्ने नेताहरूको भिडमा बलराम सधैँ अछामको माटोसँग जोडिएका बिरलै पात्र हुन्। सुखमा होस् वा दुःखमा, उनी सधैँ सोझा-साझा जनता र कार्यकर्ताको घरदैलोमै रहे।
​हातैमा आएको पद त्यागेर, पार्टीको एकताका लागि बलिदानी दिने बलरामको यो कदमले धेरै कार्यकर्ताको आँखा रसाएका छन्। राजनीतिमा इमानदारिता हराउँदै गएको यो समयमा उनी त्यागको पर्याय बनेका छन्। कमलबजारको चुनावी नतिजा जे-जस्तो आए पनि, अछामी काङ्ग्रेसको इतिहासमा बलराम बिष्टले आफ्नो कद धेरै अग्लो बनाइसकेका छन्। पद हारेर पनि जनता र कार्यकर्ताको मन जित्ने बलराम, यो महासङ्ग्राममा आफूलाई पक्कै पनि अब्बल र अजेय साबित गर्नेछन्।


Advertisement

ad
  • पहाड खबर

  • २०८३ असोज १४ बुधबार
↑