ad

समुदायले सुनाएका स्वास्थ्य र लैंगिकताका सवाल पालिकासम्म

  • पहाड खबर

  • २०८३ भदौ २८ आइतबार

अछाम — पन्चदेवल विनायक नगरपालिकाका विभिन्न वडामा अहिले लैंगिक हिंसा र स्वास्थ सम्बन्धी छलफल चलिरहेको छ ।
गाउँमा हुने छलफलमा स्थानीयले आफ्ना समस्या सुनाईरहेका छन । कसैले स्वास्थ्य सेवाको सन्दर्भको गुनासो गर्छन, कसैले महिला तथा पुरुषबीचको असमान व्यवहारका कुरा उठाउछन  । कतिपयले लैंगिक हिंसा, स्वास्थ्यसम्बन्धी समस्या र त्यसको समाधानका लागि स्थानीय सरकारको थप सक्रियता आवश्यक रहेको सुझाव दिएका छन ।
यी छलफल र समुदायको आवाज लैंगिक रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजनाले संकलन गर्दै आएको छ । यी आवाजहरू कार्यक्रम सकिएसँगै हराएका छैनन । समुदायबाट उठेका प्रश्न, गुनासा, सुझाव र चुनौतीलाई लिखित रूपमा संकलन गरी सम्बन्धित वडा हुँदै पञ्चदेवल विनायक नगरपालिकाको स्वास्थ्य शाखासम्म पुर्‍याइएको छ ।
सामुदायिक विकास केन्द्र डोटीले पञ्चदेवल विनायक नगरपालिकासँगको सहकार्य तथा जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) को आर्थिक सहयोगमा सञ्चालित ‘लैंगिक रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना’ अन्तर्गत समुदायबाट आएका सवालहरू दस्तावेजीकरण गरी सम्बन्धित निकायलाई बुझाएको हो ।
परियोजनाअन्तर्गत समुदायस्तरमा सञ्चालन गरिएका विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागी समुदायका प्रतिनिधिहरूले स्थानीय स्वास्थ्य अवस्था, स्वास्थ्य सेवामा पहुँच, लैंगिक समानता तथा विभेदलगायतका विषयमा आफ्ना अनुभव, समस्या र सुझाव राखेका थिए ।
परियोजनाले ती सुझाव तथा चुनौतीलाई संकलन गरी परियोजना सञ्चालन भएका वडा नम्बर ३,४,७ र ८ मा बुझाएको छ भने समग्र रूपमा नगरपालिकाको स्वास्थ्य शाखामा समेत पेश गरेको परियोजना संयोजक कमला बिष्टले जानकारी दिईन ।
समुदायबाट आएका सवाललाई कागजमा सीमित राख्नु नभई स्थानीय सरकारको योजना निर्माण प्रक्रियासँग जोड्नु परियोजनाको मुख्य उद्देश्य रहेको जनाईएको छ ।
स्थानीय तहले आगामी वर्षका नीति, योजना तथा कार्यक्रम बनाउँदा समुदायका प्रतिनिधिहरूले उठाएका स्वास्थ्य तथा लैंगिकतासम्बन्धी सवालमाथि छलफल होस्, समस्या पहिचान होस् र सम्भव समाधानका उपाय खोजियोस् भन्ने उद्देश्यले दस्तावेज सम्बन्धित निकायलाई बुझाइएको हो ।
स्थानीय सरकारका योजना प्रायः कार्यालय तहबाट तय हुने भए पनि समुदायले दैनिक जीवनमा भोगिरहेका समस्या र आवश्यकतालाई योजनाको आधार बनाउन सके सेवा अझ प्रभावकारी बन्ने अपेक्षा परियोजनाको छ ।
परियोजना संयोजक बिष्टका अनुसार समुदायबाट संकलित सुझावमा स्वास्थ्य सेवामा पहुँच, स्वास्थ्यसम्बन्धी जनचेतना, लैंगिक विभेद, महिला तथा पुरुषको समान सहभागिता र समुदायमा देखिएका विभिन्न सामाजिक तथा स्वास्थ्य चुनौतीका विषय समेटिएका छन् ।


Advertisement

ad
  • पहाड खबर

  • २०८३ भदौ २८ आइतबार