विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका विषयक वक्तृत्वकला विनायकमा सम्पन्न
नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस अछाममा पनि मनाइयो
-

-
पहाड खबर
- २०८३ भदौ १९ शुक्रबार
अछाम । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा अछामको पञ्चदेवल विनायक नगरपालिकामा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
‘मानवताको लागि एकबद्ध होऔँ (#United_in_Humanity)’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामको निर्णयअनुसार जिल्लास्तरीय कार्यक्रमका रूपमा पञ्चदेवल विनायक उपशाखाको आयोजनामा तथा पञ्चदेवल विनायक नगरपालिकाको समन्वय र सहयोगमा ‘विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा पञ्चदेवल विनायक नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा भवानीदेवी माध्यमिक विद्यालय पुल्लेतोलाकी छात्रा निकिता रावल प्रथम, विद्यामन्दिर माध्यमिक विद्यालयकी छात्रा पूजा तिमिल्सैना द्वितीय, मालिका माध्यमिक विद्यालयकी छात्रा जेनिशा जैशी तृतीय र चण्डिका माध्यमिक विद्यालयका छात्र प्रकाश भुल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विजेता विद्यार्थीहरूलाई बधाई दिँदै आयोजकले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताइन्। विपद् आउनुअघि नै जोखिमको पहिचान, पूर्वतयारी र सचेतना अभिवृद्धि गर्न सके मानवीय तथा भौतिक क्षति कम गर्न सकिने भन्दै उनले स्थानीय सरकार, रेडक्रस, विद्यालय र समुदायबीचको सहकार्य आवश्यक रहेको बताइन्। विद्यार्थीहरूमा विपद् व्यवस्थापनसम्बन्धी ज्ञान र चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगाना, प्रदेश कार्यसमिति सदस्य टेकबहादुर शाही र पूर्व केन्द्रीय सदस्य बृकेश बोगटी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार, रेडक्रसका आजीवन तथा साधारण सदस्य, नगर उद्योग वाणिज्य संघलगायतको उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल विनायक उपशाखाका सभापति एलआर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपसभापति इन्दिरा रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन उपशाखाका सचिव दिपेन्द्रबहादुर धामीले गरेका थिए।
-

-
पहाड खबर
- २०८३ भदौ १९ शुक्रबार
अपडेट
बाल समृद्धि तथा एकीकृत विकासका लागि सञ्चालित हातेमालो परियोजनाको वार्षिक प्रगति तथा समीक्षा कार्यक्रम सम्पन्न
विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका विषयक वक्तृत्वकला विनायकमा सम्पन्न
बाढीपीडितको सहयोगका लागि पञ्चदेवल विनायक नगरपालिकाले ३३ लाख बढी रकम सहयोग गर्ने
रेडक्रस दिवसमा पञ्चदेवल विनायकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने
मलेसियामा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुँदै








