ad
समाचार

बाढीपीडितको सहयोगका लागि पञ्चदेवल विनायक नगरपालिकाले ३३ लाख बढी रकम सहयोग गर्ने

  • पहाड खबर

  • २०८३ भदौ १८ बिहीबार

अछाम । पञ्चदेवल विनायक नगरपालिकाले रसुवागढी तथा भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।


Advertisement

२०८३ साल भदौ १० गते रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।

नगरपालिकाले बाढी तथा विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

राष्ट्रिय विपत्तिको यस दुःखद घडीमा क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माण, घाइतेहरूको उद्धार तथा उपचार र प्रभावितहरूको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

नगर प्रमुख अम्बिका चलाउनेले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको मानवीय तथा सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले राष्ट्रिय विपत्तिमा सबै पक्ष एकजुट भएर प्रभावित नागरिकको उद्धार, राहत, उपचार र पुनर्स्थापनामा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

“रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिले हामी अत्यन्त दुःखी भएका छौँ। यस्तो दुःखद परिस्थितिमा प्रभावित नागरिकको उद्धार, उपचार र पुनर्स्थापनाका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्नु हाम्रो दायित्व हो,” नगर प्रमुख चलाउनेले भन्नुभयो, “जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालय परिवारको समेत सहभागितामा संकलन हुने यो रकमले विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा केही सहयोग पुग्ने विश्वास लिएका छौँ।”

पञ्चदेवल विनायक नगरपालिका नगर कार्यपालिकाको २०८३ भदौ १७ गतेको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो।

नगरपालिकाले जनप्रतिनिधिहरूको सेवा–सुविधाबापत १ लाख २९ हजार २ सय ३३ रुपैयाँ, कर्मचारीहरूको तलबबाट ७ लाख ६ हजार ४ सय १२ रुपैयाँ, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्तासमेतबाट २२ लाख १२ हजार २ रुपैयाँ र प्रकोप व्यवस्थापन कोषबाट २ लाख ८५ हजार ६८६ रुपैयाँ गरी कुल ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गर्ने भएको छ।

निर्णयअनुसार नगर प्रमुखले १५ दिन, नगर उपप्रमुखले १० दिन, वडा अध्यक्षले ७ दिन, कार्यपालिका सदस्यले ५ दिन तथा नगरसभा सदस्यले ३ दिन बराबरको सेवा–सुविधाबापतको रकम सहयोग गर्नेछन्।

त्यसैगरी कर्मचारीतर्फ अधिकृत स्तरका कर्मचारीले ७ दिन, सहायक चौथो तथा पाँचौँ तहका कर्मचारीले ५ दिन र श्रेणीविहीन कर्मचारीले २ दिन बराबरको तलब सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरिएको छ।

शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरूको समेत सहयोगबाट रकम संकलन गरी विपद् प्रभावितका लागि प्रदान गरिने नगरपालिकाले जनाएको छ।

ad
  • पहाड खबर

  • २०८३ भदौ १८ बिहीबार

सम्बन्धित खबर