बाल समृद्धि तथा एकीकृत विकासका लागि सञ्चालित हातेमालो परियोजनाको वार्षिक प्रगति तथा समीक्षा कार्यक्रम सम्पन्न
-

-
पहाड खबर
- २०८३ भदौ २६ शुक्रबार
अछाम । बाल समृद्धि तथा एकीकृत विकासका लागि सञ्चालित हातेमालो परियोजनाको वार्षिक प्रगति तथा समीक्षा कार्यक्रम अछामको मंगलसेनमा सम्पन्न भएको छ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल, आस्था नेपाल र वाक नेपाल को साझेदारीमा सञ्चालित बाल समृद्धि तथा एकीकृत विकासका लागि सञ्चालित हातेमालो परियोजनाले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरेका विभिन्न गतिविधि, उपलब्धि, प्रभाव, सिकाइ, चुनौती तथा आगामी प्राथमिकताका विषयमा समीक्षा गरेको हो।
परियोजनाले अछामका पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिका गरी चार स्थानीय तहमा बालबालिकाको समग्र विकास, बाल संरक्षण, शिक्षा, स्वास्थ्य तथा पोषणसँगै परिवारको जीविकोपार्जन र समुदायको सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। परियोजनाअन्तर्गत आयआर्जन तथा परिवारको आर्थिक अवस्था सुधारका लागि कृषि तथा पशुपालनमा आधारित सहयोगसमेत हुँदै आएको छ।
वार्षिक समीक्षा कार्यक्रमअघि जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको संयोजकत्वमा परियोजनाअन्तर्गत सञ्चालन भएका विभिन्न कार्यक्रमको संयुक्त स्थलगत अनुगमन गरिएको थियो।
बुधबार गरिएको स्थलगत अनुगमनका क्रममा चारवटै स्थानीय तहमा परियोजनाले सञ्चालन गरेका वडा बाल अधिकार समिति, बालमैत्री स्थानीय शासन समिति, बाल संरक्षण तथा बाल अधिकार प्रवर्द्धनका गतिविधि र तिनको प्रभावकारिताबारे जानकारी लिइएको थियो।
त्यसैगरी अति विपन्न तथा जोखिममा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा समग्र बाल कल्याणमा गरिएको सहयोग, अभिभावक तथा परिवारको आर्थिक अवस्था सुधारका लागि सञ्चालन गरिएका जीविकोपार्जनका कार्यक्रम, बाख्रापालन, तरकारी खेती तथा कृषि सामग्री वितरणलगायतका गतिविधिको प्रभावकारिता पनि अनुगमन गरिएको थियो।
अनुगमन टोलीले समुदायमा सञ्चालन गरिएका विभिन्न सहयोग, क्षमता विकास, सशक्तीकरण तथा सचेतनामूलक कार्यक्रमले बालबालिका, अभिभावक तथा समुदायमा पारेको प्रभाव, स्थानीय तहसँगको समन्वय, कार्यक्रमको दिगोपना तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समेत सरोकारवालासँग छलफल गरेको थियो।
स्थलगत अनुगमनपछि बिहीबार मंगलसेनमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपाल, आस्था नेपाल तथा वाक नेपालबाट परियोजनाअन्तर्गत वर्षभरि सञ्चालन गरिएका गतिविधि, हासिल उपलब्धि, प्रभाव, सिकाइ, चुनौती तथा आगामी प्राथमिकताबारे प्रस्तुतीकरण गरिएको थियो।
प्रस्तुतीकरणपछि परियोजनाले बालबालिका, परिवार तथा समुदायमा पारेको प्रभाव, स्थानीय तहसँगको सहकार्य, कार्यक्रमको प्रभावकारिता र दिगोपनाका विषयमा सहभागीबीच छलफल गरिएको थियो।
समीक्षाका क्रममा बाल अधिकार सुनिश्चित गर्न स्थानीय तहमा निर्माण तथा सक्रिय गरिएका संरचना, बालमैत्री स्थानीय शासनको प्रवर्द्धन, जोखिम तथा विपन्न बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच अभिवृद्धि तथा परिवारको आयआर्जन बढाउने कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाइएको विषयमा जोड दिइएको थियो।
परियोजनाका जीविकोपार्जनसम्बन्धी गतिविधिले परिवारको आयआर्जन वृद्धि, आत्मनिर्भरता तथा बालबालिकाको समग्र जीवनस्तर सुधारमा योगदान पुर्याउने लक्ष्य राखेको देखिन्छ। वाक नेपालको सार्वजनिक विवरणमा पनि आयआर्जन कार्यक्रमलाई परिवारको आर्थिक अवस्था सुदृढीकरण र बाल समृद्धिसँग जोडिएको उल्लेख छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजनाले अछामका बालबालिका, परिवार तथा समुदायमा प्रशंसनीय काम गरेको भन्दै खुसी व्यक्त गरेका थिए।
उनीहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणका सवाललाई अभिभावकको जीविकोपार्जन, आर्थिक सशक्तीकरण र समुदायको क्षमता विकाससँग जोडेर सञ्चालन गरिएका कार्यक्रम सकारात्मक रहेको बताए।
परियोजनाबाट निर्माण भएका स्थानीय संरचना, विकास गरिएको समुदायको क्षमता तथा हासिल भएका सकारात्मक अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिन स्थानीय तहले अपनत्व बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
बालबालिकाका सवाललाई स्थानीय सरकारको नियमित नीति, योजना तथा बजेटमा समावेश गर्दै विकास साझेदारबाट भएका प्रभावकारी अभ्यासलाई संस्थागत गर्नुपर्ने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने, साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवर, मंगलसेन नगरपालिकाका नगर उपप्रमुख संगीता रावल सोडारी, कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुँवर, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख पविन्द्र बम, जिल्ला अनुसन्धान कार्यालयका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपतिलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, स्थानीय तहका विषयगत शाखाका प्रमुख तथा कर्मचारी, जनप्रतिनिधि, जिल्ला परियोजना सल्लाहकार समितिका पदाधिकारी, गैरसरकारी संस्था महासंघ अछामका अध्यक्ष बलबहादुर केसी, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावत, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका मीन थापा, आस्था नेपालका कार्यकारी निर्देशक निराजन शाही, गैरसरकारी संस्था महासंघ अछामका अध्यक्ष बलबहादुर केसी, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपाल, आस्था नेपाल र वाक नेपालका कार्यसमिति सदस्य तथा कर्मचारी, परियोजनासँग प्रत्यक्ष रूपमा जोडिएका सरोकारवाला निकाय तथा अन्य विकास साझेदार संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
वक्ताहरूले बालबालिकाको अधिकार, संरक्षण र समग्र विकासलाई केवल बाल कार्यक्रमका रूपमा नभई परिवारको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन र समुदायको सशक्तीकरणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
परियोजनाले सञ्चालन गरेका स्थानीय संरचना र समुदायमा विकास भएको क्षमता आगामी दिनमा पनि उपयोग गर्न सकिने भएकाले परियोजनाको दिगोपनाका लागि स्थानीय सरकार, समुदाय, अभिभावक तथा अन्य विकास साझेदारबीच निरन्तर सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
विशेषगरी परियोजनाबाट भएका सकारात्मक अभ्यासलाई स्थानीय तहको योजना तथा बजेटमा समावेश गरी संस्थागत गर्न सके बाल संरक्षण, बालमैत्री शासन तथा परिवारको आर्थिक सशक्तीकरणका क्षेत्रमा दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रमको सुरुवात वाक नेपालका उपाध्यक्ष अप्सरा कुँवरको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रमको सञ्चालन हातेमालो परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत हर्क खड्काले गरेका थिए।
वार्षिक समीक्षा कार्यक्रमले आर्थिक वर्ष २०८३/०८४ मा परियोजनाले हासिल गरेका उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ र प्रभावको समीक्षा गर्दै आगामी दिनमा बाल समृद्धि, बाल संरक्षण, बालमैत्री स्थानीय शासन, परिवारको आर्थिक सशक्तीकरण, जीविकोपार्जन तथा समुदायको दिगो विकासका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने आधार तयार गरेको आयोजकले जनाएको छ।
-

-
पहाड खबर
- २०८३ भदौ २६ शुक्रबार
अपडेट
बाल समृद्धि तथा एकीकृत विकासका लागि सञ्चालित हातेमालो परियोजनाको वार्षिक प्रगति तथा समीक्षा कार्यक्रम सम्पन्न
विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका विषयक वक्तृत्वकला विनायकमा सम्पन्न
बाढीपीडितको सहयोगका लागि पञ्चदेवल विनायक नगरपालिकाले ३३ लाख बढी रकम सहयोग गर्ने
रेडक्रस दिवसमा पञ्चदेवल विनायकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने
मलेसियामा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुँदै








