ad
दिनेश केसी

‎दूर काठमाडौँमा सुदूरको पर्व : मैले तीन वर्षअघि भेटाएकी ‘गौरा’ को कथा

  • दिनेश केसी

  • २०८३ भदौ १९ शुक्रबार

तीन वर्ष पहिलेको भदौरे झरी ओभानो हुँदै गर्दा म पहिलोपटक काठमाडौँको टुँडिखेल पुगेको थिएँ। धुलो, धुवाँ र गाडीको कर्कश हर्नमा अभ्यस्त भइसकेको काठमाडौँको मुटुमा त्यो दिन अर्कै सुगन्ध र लय थियो।


Advertisement

‎

‎ढोलकको घन्किँदो ताल, रातो-पहेंलो पोते र धोतीमा सजिएका पश्चिमेली महिलाहरू, अनि हातमा हात जोडेर देउडा खेलिरहेका सुदूरपश्चिमेली हरू ।

‎

‎​त्यही भीडको माझमा मैले पहिलो पटक ‘गौरा’लाई भेटेको थिएँ एउटा जीवन्त संस्कृति, जसले सुदूरपश्चिमको संस्कृति बोकेर काठमाडौँको खुला चौरमा घुमिरहेकी थिइन ।

‎

‎​त्यस दिनदेखि मेरो मनमा जिज्ञासा जागेको थियो, के गौरा केवल टुँडिखेलमा खेलिने देउडा र खिचिने तस्बिरहरू मात्र हुन् ? अथवा यसको जरा अझै गहिरो, अझै पौराणिक छ?

‎

‎​माटो र वनस्पतिको आत्मीयता संगै कसरी जन्मिन्छिन् गौरा ?

‎​तीन वर्षअघिको त्यो भेटपछि मैले गौराको वास्तविक रूप खोज्न थालेँ। थाहा भयो गौरा बजारमा किन्न पाइने प्लाष्टिक वा धातुका मूर्ति होइनन्। गौरा त आफ्नै खेतबारी र पाखापखेरामा उम्रिने प्रकृतिको जीवन्त रूप हुन्।

‎​सप्तमीका दिन गाउँका महिलाहरू सामूहिक रूपमा नजिकैको खेत वा वनमा जान्छन्। त्यहाँबाट धान, साउँ (सामा), तिल, र अपामार्ग जस्ता पवित्र पाँच प्रकारका बिरुवाहरू उखेलेर ल्याउँछन्। तिनै हरिया वनस्पतिलाई रातो-हरियो कपडा, चुरा, पोते र धागोले बेरेर पार्वतीको स्वरूप अर्थात् 'गौरा'को प्रतिमा बनाइन्छ।

‎

‎​प्रकृतिका यी बिरुवालाई सिँगारेर घरको मुख्य कोठामा भित्र्याउनुको अर्थ हुन्छ - प्रकृति, कृषि र नारी शक्तिलाई एकैसाथ पूजा गर्नु। मानव जीवनका लागि आवश्यक अन्न र वनस्पतिको सम्मान नै गौरा पर्वको वास्तविक मर्म रहेछ।

‎

‎​बिरुडा: पञ्चतत्व र जीवनको अङ्कुरण

‎​गौराको कथा ‘बिरुडा’ बिना अधुरो रहन्छ। पञ्चमीका दिन तामा वा पित्तलको भाँडोमा भिजाइने पाँच थरी गेडागुडी गहुँ, केराउ, गहत, माष (मास) र गुरुस (गुराँस) को समष्टिगत रूप नै बिरुडा हो।

‎

‎​तीन वर्ष पहिले टुँडिखेलमा एक वृद्धा आमाले मेरो टाउकोमा बिरुडा छर्कँदै भन्नुभएको आशीर्वाद अझै मेरो कानमा गुञ्जिरहन्छ। बिरुडा केवल पूजाको सामग्री मात्र होइन, यो त पञ्चतत्वको प्रतीक र जीवनको अङ्कुरण (सृष्टि) को रूप हो। अष्टमीका दिन शिव-पार्वतीको विधिपूर्वक पूजा गरिसकेपछि यो बिरुडालाई प्रसादका रूपमा घर-घरमा बाँडिन्छ र नयाँ जीवन अनि समृद्धिको कामना गरिन्छ।

‎

‎​पौराणिक जग: सतीदेवीको तपस्या र शिवको साथ

पौराणिक कथा अनुसार, हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्नका लागि भाद्र महिनामा कठोर तपस्या गरेकी थिइन्। पार्वतीको त्यही तपस्या, निष्ठा र समर्पणको सम्झनामा गौरा पर्व मनाउन थालिएको विश्वास गरिन्छ।

‎

‎​डोटी राज्य र कुमाउँ क्षेत्रबाट सुरु भएको यो परम्परा अहिले सम्पूर्ण सुदूरपश्चिम र कर्णालीको प्राण बनेको छ। महिलाहरूले आफ्नो पतिको दीर्घायु, सन्तानको सुस्वास्थ्य र परिवारको कल्याणका लागि निर्जला (पानी पनि नपिई) व्रत बसेर गौराको पूजा गर्छन्।

‎

‎​इतिहास र जीवन बोल्ने देउडा, चैत र धमारी

‎​गौरा घरमा गौरा भित्र्याइसकेपछि सुरु हुन्छ सांस्कृतिक उत्सव। रात-दिन नभनी मानिसहरू गोलाकार भई हातमा हात जोडेर झुम्छन्। यहाँ गाइने गीतहरू मनोरञ्जन मात्रै नभएर इतिहास, जीवन र संस्कृति हाे ।

‎

‎​काठमाडौँमा ‘जरा’ खोज्ने प्रयास

‎​तीन वर्षअघि मैले भेटेकी ती गौरा आज पनि हरेक भदौमा काठमाडौँका गल्ली र चौरहरूमा उत्रिन्छिन्। अध्ययन, रोजगारी र जीवनको दौडधुपमा गाउँ छोडेर राजधानी भित्रिएकाहरूका लागि गौरा धर्म मात्रै होइन, आफ्ना हजुरबुबा-हजुरआमाको सम्झना र आफ्नो मौलिक पहिचानसँग जोडिने चौतारी बनेकी छन्।

‎

‎​कङ्क्रीटको यो व्यस्त सहरमा देउडाको लय गुञ्जँदा र शिरमा बिरुडाको आशीर्वाद पर्दा महसुस हुन्छ मानिस जहाँ पुगे पनि आफ्नो माटो, संस्कृति र जराबाट कहिल्यै टाढा हुन सक्दैन। गौरा पर्व तिनै जराहरूलाई हराभरा बनाइराख्ने एउटा पवित्र माध्यम हो।

ad
  • दिनेश केसी

  • २०८३ भदौ १९ शुक्रबार
↑