ad

अचेल उस्तै छैन मालाकोला

  • रमेश रावत

  • २०८२ जेठ २२ बुधबार

भनिन्छ, बाह्र वर्षमा खोला पनि फर्किन्छ। तर मेरो लागि मालाकोला फर्किन २२ वर्ष लाग्यो। वि.सं. २०६० सालमा पहिलो पटक पाइला टेकेको यो ठाउँमा फेरि आइपुग्न मलाई २२ वर्ष कुर्नुपर्‍यो। र यो पुनरागमनको कारण भने सुखद थिएन।
मालाकोलाका एक प्रतिष्ठित व्यक्ति, पदमबहादुर बुढा दाइको अल्पायुमै भएको निधनले परिवारमा शोक छाएको थियो। उहाँहरूसँग समवेदना बाँड्न नै म यहाँ आइपुगेँ। स्वर्गारोहण हुनुभएका पदमबहादुर बुढा दाइप्रति मेरो हार्दिक श्रद्धाञ्जली! उहाँको अभाव सधैँ खड्किरहनेछ।
प्रिय मालाकोला क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरू,शब्द कहिले काँही गह्रौं बन्छन । विशेष गरी जब ती शब्दले पहिचान, भावना र इतिहास बोकेको हुन्छ। म आज यहाँ एउटा यस्तो शब्द लिएर आएको छु, जसले मेरो बाल्यकाल सम्झाउछ । मेरो सम्झनाको तरेली शब्द सुनेपछि म जहिल्यै नोसल्जिया बन्छु । अनि याद हरुको सागरको चुर्लुम्म डुब्छु ।यो शब्द मैले सानैदेखि सुन्दै आएको हुँ। मलाई थाहा छ , आजको दिनमा तपाईंहरूमध्ये केहीले यो नामलाई अस्वीकार गर्नुहुन्छ । मलाई थाहा छ , आजको दिनमा तपाईंहरूमध्ये कतिपयले मालाकोला भन्ने नामलाई स्वीकार गर्नुहुन्न। यो शब्दप्रति प्रेम छैन भन्ने कुरा पनि सुन्ने अवसर पाएको छु। तपाईंहरूको भावना र पहिचानप्रतिको म गहिरो सम्मान गर्दछु। यही कारणले, म यो लेख लेख्दै गर्दा प्रत्येक शब्द  संवेदनशील ढंगले प्रयोग गर्न प्रयासरत छु।

म यो ठाँउ र यहाँका मानिसहरूलाई केवल नामको आधारमा मूल्याङ्कन गर्न चाहन्न। म स्वीकार गर्छु मैले धेरै समय यहाँ बिताएको छैन। तर जति बिताएँ, त्यति नै गहिराइमा मैले यो भूमिको माया महसुस गरेँ। ती उकाला ओरालाहरूमा हिँड्दा मैले देखेको कुरा केवल भूगोल थिएन । मैले देखेँ यहाँका इमानदार मिहिनेती अनुहारहरू, नम्र मुस्कानहरू, अनि अनुशासनका साथ बाँच्ने जीवनशैली।

त्यसैले मालाकोला शब्द मात्र मेरो लागि धेरै प्रिय छ ।साथै यो शब्दसँग गाँसिएको भूगोल, जीवनशैली र यहाँका इमानदार मिहिनेती मानिस हरु प्रती विशेष सम्मान रहेको छ।
एउटा गित छ ।
को घाँस के बिरानो छ के मालाकोली गाईलाई
खिर पकाउ कि,पोतला चखाउ हृदयकी साईलाई ।

२२ वर्षअघि, म विनायकबाट हिँडेर मालाकोला पुगेको थिएँ। त्यसबेला मेरो लागि मालाकोला भनेको ढकारीको झ्याँकि सल्ला काटेर ओरालो लागेपछि सुरु हुने घना जङ्गल र फाट्टफुट्ट देखिने बस्ती भएको भूगोल थियो। मैले चिनेका बस्तीहरू जम्मा तल्लो साल्कोट, माथिल्लो साल्कोट र ओगटे मात्र थिए। मेरो बुझाइमा मालाकोलाका बस्ती यिनै तीन गाउँमा सीमित थिए।
तर, यसपालि मालाकोला पुग्दा मेरो धारणा पूरै बदलियो। मलाई थाहा भयो कि अछामका अन्य मानिसहरूले गल्बालदेखिको पूरै क्षेत्रलाई नै मालाकोला भन्दा रहेछन्।

ओगटे यो नाम उच्चारण गर्नासाथ मेरो स्मृतिमा एउटा सानो गोठ छानो फटाफट देखा पर्छ। त्यो गोठ मेरी सानीआमाको थियो । सानो, तर निकै आत्मीय । कयरको छानो भएको  गोठमा बाधेका भैसी र गोरू बाख्रा । त्यो गोठ केवल जनावर राख्ने ठाउँ थिएन, त्यो त हामी नातेदारहरूको सम्बन्ध गाँसिने ठाउँ थियो। सानीआमाको परिवार वर्षा लागेपछि मस्टाबण्डालीको घेगडबाट ओगटे झर्थ्यो। त्यहाँ, हरियो डाँडाको काखमा बनाइएको सानो गोठमै उनीहरू बस्थे । सादा तर सन्तुष्ट जीवन। त्यो गोठ गोठ मात्रै थिएन, आत्मीयताले भरिएको एउटा संसार थियो। म सानो हुँदा सानीआमा बिनायक स्थित हाम्रो घरमा अक्सर आउनुहुन्थ्यो। उहाँको बोलीमा एउटा विशेष मिठास हुन्थ्यो र बारम्बार सुनिने नाम थियो—मालाकोला। उहाँ मालाकोलाको जंगल, गोरेटो, खोला, र मान्छेहरूको कथा भन्नुहुन्थ्यो, जसले मेरो बाल मनमा एउटा आकर्षक संसार रचिदिएको थियो।

त्यही जिज्ञासाले म स्कुलको बर्खे विदामा एकपल्ट सानीआमासँग मालाकोला पुगेँ। त्यहाँको पहिलो यात्रा नै बिर्सन नसकिने भयो झरीले चिप्लो बनाएको बाटो, खुट्टामा टाँसिने माटो र त्यो माटोभन्दा पनि अझ चिप्लो भएर टाँसिने स्मृतिहरू । गोठको आगोमा सानीआमाले उमालेर दिनुभएको कुराउनी र तातो दूधको त्यो स्वाद आज पनि मनको कुनै कुनामा बाँकी छ। मालाकोलामा बिताएका ती जम्मा ६ दिन मेरा लागि केवल घुमफिर मात्र थिएन । त्यो त मेरो बालपनको उमेरमा सानीआमाको ममतासँग र एउटा सादगीपूर्ण ग्रामीण जीवनशैली सँगको आत्मीय साक्षात्कार पनि थियो।

त्यसपछि मैले नेपालका सयौँ गन्तव्यहरूको यात्रा गरिसकेको छु, तर जुम्लाको खालीचौर र अछामको मालाकाेला ती ठाउँहरू हुन् जहाँ मलाई फेरि फर्केर जान मन लाग्छ। यसपटक, अछाम जिल्लाका समन्वय प्रमुख ललित बहादुर कुँवरज्यूसँग यी दुवै ठाउँमा पुग्ने अवसर मिल्यो। जुन ठाउँमा फेरि पुगौँला भनेर सोचेको थिएँ, उहाँसँगै जान पाउनु एक संयोग नै थियो।
उहाँले मलाई रारा जाने कार्यक्रममा सहभागी हुन धेरै कर गर्नुभयो। मैले एउटा सर्त राखेँ खलंगा हुँदै खालीचौरको बाटो भएर रारा जाने। मेरो सर्तअनुसार नै यो यात्रा भयो। यस यात्रामा समन्वय समिति प्रमुख कुँवर, गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेश प्रमुख प्रकाशविक्रम शाह, पत्रकार दिनेश केसी र म सहभागी थियौँ।
बितेका २२ वर्षमा म ढकारी र हिच्मा जस्ता नजिकका अन्य स्थानहरूमा दर्जनौँ पटक पुगेँ, तर मेरो स्मृतिमा बसेको र मनमा सजाएको वास्तविक मालाकाेला सम्म पुग्न सकेको थिइनँ। यसपटकको पुनरागमनले मेरा ती पुराना यादहरूलाई ताजा बनाइदियो र मनमा एक प्रकारको असाधारण सन्तुष्टि प्रदान गर्‍यो।
मालाकाेलाको प्राकृतिक सुन्दरता र शान्त वातावरणले मलाई फेरि पनि यस ठाउँमा फर्केर आउन प्रेरित गरेको थियो, र आखिरमा त्यो सपना साकार भयो। यो यात्रा मेरा लागि केवल एउटा ठाउँको भ्रमण मात्र थिएन, यो त मेरा विगतका सम्झनाहरूसँगको पुनर्मिलन थियो। यहाँको हरेक कुना, हरेक दृश्यले मलाई पुराना दिनहरूको याद दिलाउँथ्यो, जहाँ मैले आफ्नो बाल्यकालका केही सुन्दर पलहरू बिताएको थिएँ।
मालाकाेलाको माटोमा पाइला टेक्दा मनमा एक किसिमको आत्मीयता र शान्ति महसुस भयो। यस ठाउँले मलाई सधैँ आकर्षित गरेको थियो र आज त्यही आकर्षणले मलाई यहाँसम्म डोर्‍यायो। यो यात्रा वृतान्त केवल एक लेखोट मात्र होइन, यो त मेरो मनको गहिराइमा लुकेका भावनाहरूको अभिव्यक्ति हो, जुन मालाकाेलाले मलाई दिएको छ।

झ्याकिसल्ला हुँदै अघि बढेको यसपालिको हाम्रो यात्रा बलाता सम्मको थियो। झ्याकीसल्ला कटेदेखि नै मेरो मनमा एउटा कौतुहलता जाग्न थाल्यो । मालाकोला कस्तो भएको होला ? विगतमा मैले देखेको भन्दा यसपालि कति परिवर्तन भएको होला भन्ने जिज्ञासा थियो । यात्राका क्रममा  हामी राक्सेखान पार गरेर भिमणी गल्बा पुग्यौँ। त्यहाँबाट हामीले ओगट्टे बड्खाको सुन्दर दृश्य हेर‍्यौँ। त्यसपछि, तल्लो साल्कोट र माथिल्लो साल्कोटलाई नियाल्यौँ।
साँच्चै भन्ने हो भने, यसपालि मालाकोला पुग्दा थाहा भयो मालाकोलाको परिवर्तन । उहिलेभन्दा निकै फेरिएको पाएँ। झ्याकिसल्ला हुँदै साल्कोट जाने बाटो फराकिलो सडकमा परिणत भएको रहेछ । साल्कोटभन्दा पारिसम्मको गाउँ हुँदै वडा कार्यालयसम्म सडक पुगेको देख्दा खुशी लाग्यो।
बलाता जाने बाटो पनि नयाँ रहेछ। माथिल्लो भेगमा बाठडाँडाको बाटो हुँदै भिमणी गल्बा, अयडी खर्क भएर बलाता पुगिने रहेछ। यस यात्राले विगत र वर्तमानको भिन्नतालाई नजिकबाट नियाल्ने अवसर दियो।
उहिलेको मालाकोला यतिबेलाको भन्दा धेरै फरक थियो । सम्झँदा पनि एउटा मीठो विगतको झल्को आउँछ। आजभन्दा केही वर्षअघि, जब म यो ठाउँको पैदल यात्रामा निस्किएको थिएँ, त्यसबेलाको मालाकोलाको छवि मेरो मानसपटलमा अझै ताजै छ।
हिँड्दै जाँदा बाटोभरि भैँसीका बथान र बाख्राका हुलहरू चरिरहेका देखिन्थे। उनीहरूका घाँटीमा झुन्डिएका घण्टीको मधुर आवाजले वातावरणमा एक प्रकारको शान्ति र सौन्दर्य थप्थ्यो। हरेक मोडमा ग्वाला गोठालाहरू भेटिन्थे, कोही भैँसी धपाउँदै, कोही बाख्राका पाठाहरूलाई काखमा बोकेर हिँडिरहेका। उनीहरूका खर्कहरू पनि मनमोहक लाग्थे, जहाँ उनीहरू साँझ बिहानको गुजारा चलाउँथे।
गोठालाहरूले जङ्गली बुट्यानको  झुलो (एक प्रकारको फलामको सामाग्री र सेतो ढुंगाले आगो बाल्न प्रयोग गरिने सामाग्री ) को बास्ना पूरै बाटोभरि फैलिएको हुन्थ्यो। त्यो बास्ना यति रमाइलो हुन्थ्यो कि, यात्राको थकान नै बिर्साउने खालको थियो। अहिले पनि त्यो झुलोको सुगन्धको कल्पना गर्दा मन प्रफुल्लित हुन्छ । आजभोलि आगो बाल्न प्रयोग गरिने त्यो परम्परागत प्रविधि लोप भैसकेको छ ।
त्यो बाटो हिँड्दा कतिपय स्थानीयहरू आफ्नो पिठ्यूँमा मालुका लडा बोकेर ढकारी (स्थानीय बजार वा मुख्य केन्द्र) तर्फ आउँदै गरेको भेटिन्थे।  ग्रामीण जीवनको त्यो मिहिनेत साँच्चै प्रेरणादायी थियो।
अनि, जताततै मौरीका घारहरू कति प्रशस्त । बाटो छेउका रुखका खोपामा होस वा घरका भित्तामा, मौरीका घारहरू प्रशस्त मात्रामा देखिन्थे। स्थानीय घरहरूमा राखिएको अर्गानिक मह को स्वाद त अझै बिर्सन सकेको छैन। त्यो प्राकृतिक र शुद्ध महको मिठासले यात्राको अनुभवलाई थप अविस्मरणीय बनाउथ्यो।
अहिलेको मालाकोला धेरै परिवर्तन भइसकेको छ। बाटोघाटो सुधारिएका छन्, बस्तीहरू बाक्लिएका छन्, र त्यो पुरानो ग्रामीण स्वरूप हराउँदै गएको छ। तर, ती पुराना दिनका यादहरू, भैँसीका घाणाको  आवाज, झुलोको बास्ना र अर्गानिक महको स्वादले मेरो मनमा मालाकोलाको एउटा छुट्टै र अविस्मरणीय छवि कोरिएको छ।
अयडीखर्क आसपास डुल्दा उहिले कहिलेकाहीँ मालुका पातमा सेकेको खिरको स्वाद चाख्न पाइन्थ्यो । त्यो स्वाद केवल खिरको थिएन, त्यसमा मेरि सानि आमाको स्नेह मिसिएको हुन्थ्यो । अझ ओगटे, बड्खा र साल्कोटतिर लाग्ने हो भने मह त अघाउञ्जेल खाइन्थ्यो। अनि कहिलेकाहीँ मासुको इच्छा जाग्दा आफ्नै गोठबाट खसी तानेर काट्ने परम्परा थियो । जुन न त व्यापारिक थियो, न त तडकभड ।
मालाकोला सधैंभरि उर्बर थियो । माटोले मात्रै होइन, जीवनशैलीले पनि। यहाँका मान्छेहरू उहिले पनि आत्मनिर्भर थिए, अहिले पनि आत्मनिर्भर छन । डोटीको गौडामा मालाकोलाको स्थानीय उत्पादनको खुब माग हुन्थ्यो उहिले । यहाँको उत्पादन   लस्कर लागेर किन्न घर आगन पुग्थे उहिले । डोटी पुग्थ्यो मालाकोलाको उत्पादन । त्यो केवल स्थानीय उत्पादनको बिक्रीवितरण मात्र थिएन । आत्मनिर्भरताको पहिचान पनि थियो उतिबेलाको ब्यापार ।
विकास र पलायनको कथा आजको मालाकोला मैले उहिले देखेको भन्दा धेरै फेरिएको छ। यसपटकको यात्रामा मैले पहिलेका जस्ता बाख्राका बथान वा भैँसी गोठालाहरू देख्न सकिनँ। मालाकोलामा उहिले जस्तो महको उत्पादन पनि छैन। अयडी खर्कमा सेकेको खिरको स्वाद त अब एकादेशको कथाजस्तै भएको छ, त्यो लोप भइसकेको छ।
बजारमा प्लास्टिकको प्रयोग बढेसँगै मालुका लडा बोकेर हिँड्ने प्रचलन नै हराएको छ। उहिले जस्तै एकै जनाले सयौँ बाख्रा पाल्न सक्ने अवस्था अहिले छैन। गाउँमा सडक पुगेको त छ, तर गाडि भरेर पठाउने मान्छेहरूबाहेक अरू केही पनि देखिँदैन। गाउँका दुहुना भैँसीहरूलाई मासुका लागि दलालहरूले सुर्खेततर्फ ओसारी सकेका छन्। बाख्रापालन गरेर आत्मनिर्भर बन्न सक्ने वातावरण अहिले छैन।
वर्षौँदेखि बाख्रापालन गरेर आत्मनिर्भर बनेका किसानहरू कहिल्यै राज्यको आँखामा परेनन्। उनीहरूले राज्यले दिने अनुदान पनि पाएनन्। अनुदान त दुई-चारवटा बाख्रा पालेर राज्य सञ्चालकसँग निकट सम्बन्ध भएकाहरूले मात्रै पाए। यसैले पनि खास बाख्रापालकहरू पलायन भएका छन्।
आजको समाजमा बिचौलियाहरू यति हावी भएका छन् कि, वास्तविक किसानको अवस्थाको गन्ती नै छैन। दिनरात पसिना बगाउने किसानहरू सधैँ छायामा पर्छन्, राज्यको सुबिधा  बिचौलियाको हातमा जान्छ। दुःखको कुरा, हाम्रा नीतिनिर्माताहरूलाई पनि यस विषयमा खासै रुचि देखिँदैन। उनीहरूले किसानका समस्यालाई गम्भीरतापूर्वक लिएको पाइँदैन।
काठमाडौंमा बसेर नेप्सेको उतारचढावका आधारमा देशको आर्थिक अवस्थाबारे सल्लाह, सुझाव र प्रतिक्रिया दिनेहरूलाई ग्रामीण नेपालको यथार्थ र त्यहाँका किसानको दैनिकीको कुनै चासो छैन। उनीहरूको अर्थशास्त्रको किताबमा किसानको दुःख र पसिनाको मूल्य समावेश हुँदैन।
यही बेवास्ता र उपेक्षाको मार अरू जस्तै मालाकोलाको सेरोफेरोले पनि भोगिरहेको छ। जुन मालाकोलाले कुनै समय आफ्नो उत्पादनले राज्यलाई पालेको थियो, आज त्यही ठाउँका किसानहरू बिचौलियाको शोषण र राज्यको उदासीनताका कारण पलायन हुन बाध्य छन्। जबसम्म नीतिनिर्माताहरूले वास्तविक किसानको समस्या बुझेर ठोस कदम चाल्दैनन्, तबसम्म ग्रामीण अर्थतन्त्र झन् कमजोर हुँदै जाने निश्चित छ।
पहिले राज्यलाई पाल्ने (अर्थात्, स्थानीय उत्पादनले आत्मनिर्भर भई राज्यको अर्थतन्त्रमा योगदान पुर्‍याउने) मालाकोला आज आफैँ पालिनको लागि भौँतारिएको छ।
यसपटक हाम्रो मालाकोला यात्रा विशेष रूपमा भावनात्मक थियो।

हामी बलाता क्षेत्रका अग्रज युवा, स्वर्गीय पदम बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ गएका थियौं। यात्रा घुमघामका लागि थिएन, त्यसैले त्यता रुचि पनि भएन । परिवेश  मौन थियो । तर अव फेरि मालाकोला पुग्ने इच्छा छ ।अबको यात्रामा पुराना पाइलाहरूको खोजी गर्ने तीव्र इच्छा पलाएको छ।
यसरी, २२ वर्षपछि मालाकोला फर्किएको मेरो यात्रा केवल भौगोलिक पुनरागमन मात्र थिएन । यो त मेरो बाल्यकाल, सम्झना, सम्बन्ध र संस्कृतिसँगको भावनात्मक पुनर्मिलन थियो। यसपटकको यात्राले मलाई देखायो, समयले धेरै कुरा बदल्दो रहेछ ।तर केही कुरा कहिल्यै नबदलिने रहेछन्। यहाँका जंगलहरू अझै हरिया छन्, यहाँका मान्छेहरू अझै आत्मीय छन्, र मालाकोलाको मायाले अझै मनभित्र उस्तै गरी घर बनाइरहेछ। जीवनको दौडमा जहाँतहाँ पुगिएला, तर केही ठाउँहरू हुन्छन्, जहाँ पुग्दा लाग्छ ,म फेरि घर फर्किएँ। मालाकोला त्यस्तै एउटा ठाउँ हो जहाँ म सधैं फर्किन चाहन्छु, फेरि बाल्यकालको त्यो आत्मीयता महसुस गर्न चाहन्छु ।कुनै दिन समय मिले पछि डङडङे तार हुँदै पश्चिम सुर्खेतको बाटो समातेर चिसापानी पुग्ने मन छ। फेरि एकपटक ओगट्टे बड्खा फर्कने पनि उत्कट चाहना छ । जहाँ बाल्यकालका सम्झनाहरू, हराएका दृश्य हरु र थाँती राखिएका आत्मीयताहरू अझै कतै बाँकी होलान् भन्ने आशा छ।


Advertisement

ad
  • रमेश रावत

  • २०८२ जेठ २२ बुधबार
↑