पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न खानेपानी आयोजनाको अमेरिकी राजदूतद्वारा उद्घाटन
-

-
एल.आर. ढकाल
- २०८१ मङ्सिर १९ बुधबार
अछाम । नेपालका लागी अमेरिकी राजदूत डिन थम्पसनले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईका मा सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।
पञ्चदेवल विनायक नगरपालिका र USAID कर्णाली जल परियोजनाको साझेदारीमा सम्पन्न भएको ढीमढीमे खानेपानी तथा सरसफाइ आयोजनाको राजदूत डिन थम्पसनले औपचारिक रूपमा रिबन काटेर र धारामा पानी खेलेर उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले आयोजनाका लाभग्राहीहरूसँग अन्तरक्रिया गर्दै आयोजना सम्पन्न गर्दा भोगिएका चुनौतीहरू र यसले स्थानीय समुदायमा पुर्याएको फाइदाबारे छलफल गरेका थिए। सहभागीहरूले आयोजनाले खानेपानी र सरसफाइ समस्याको समाधान गर्न महत्त्वपूर्ण योगदान दिएकोमा खुसी व्यक्त गरेका थिए । यस्तै राजदूतले पनि समुदायमा यस्तो सकारात्मक परिवर्तन ल्याउने योजनाको हिस्सा बन्न पाउँदा खुसी व्यक्त गरे ।
पञ्चदेवल विनायक नगरपालिकाको आयोजनामा भएको औपचारिक कार्यक्रमको अध्यक्षता नगरप्रमुख अम्बिका चलाउनेले गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा नेपालका लागी अमेरिकी राजदूत डिन थम्पसन र विशिष्ट अतिथिमा, उनकी धर्मपत्नी जेन थम्पसन, साथै USAID की मिसन डाइरेक्टर केट एडलिन सहभागी थिए । नगरप्रमुख चलाउनेले प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई खादा, माला, र ढाका टोपीले स्वागत गरेकि थिइन् ।
नगर प्रमुख चलाउनेले परियोजनाले स्थानीय समुदायलाई शुद्ध खानेपानी र सरसफाइको सुविधा पुर्याएको बताउँदै, दीर्घकालीन रूपमा यसको मर्मत सम्भारको जिम्मा नगरपालिकाले लिने उल्लेख गरिन् । उनले नगरपालिका र USAID कर्णाली जल परियोजनाको सहकार्यमा हाल नगरपालिकामा ३ वटा खानेपानी आयोजना मार्फत "एक घर, एक धारा" योजना सफलतापूर्वक सम्पन्न भइसकेको खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नगरपालिकाका सबै वडामा खानेपानी, सरसफाइ, स्वास्थ्य, र शिक्षाको क्षेत्रमा USAID सँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरिन् ।
स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख हर्कबहादुर रावलले यस आयोजनाले खानेपानी तथा सरसफाइको समस्याको समाधान गर्नुका साथै समुदायको जीवन स्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
यस खानेपानी आयोजनाको कार्यान्वयनको जिम्मा डडेलधुराको एमपीडीएसले लिएको थियो भने यो योजना मार्फत कुईकामा ७९ वटा मिटर सहितका धारा जडान गरिएको छ ।
नगरपालिकाको वडा नम्बर १ का ७८ घरधुरी र १ विद्यालयलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको यो आयोजना स्थानीय समुदायको जीवनस्तर सुधार गर्न र खानेपानी तथा सरसफाइको पहुँचलाई सुदृढ गर्न महत्त्वपूर्ण मानिएको छ ।
कार्यक्रममा नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरपालिकाका कर्मचारीहरू USAID का प्रतिनिधिहरू, पत्रकारहरू, सहित स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा नगरप्रमुख चलाउनेले प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, र अन्य अतिथिहरूलाई मायाको चिनो हस्तन्त्रण गरेकी थिइन् । उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका रोजगार संयोजक भरत अधिकारीले गरेका थिए ।


-

-
एल.आर. ढकाल
- २०८१ मङ्सिर १९ बुधबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने










