ad

सुदूरपश्चिमका दुई पालिकामा बहुक्षेत्रीय समन्वय समिति

योजनाको कार्यान्वयनमा सहजता

  • पहाड खबर

  • २०८३ असोज ३ शनिबार

अछाम । स्थानीय तहभित्रका विभिन्न क्षेत्रका आवश्यकता, समस्या र प्राथमिकतामाथि एउटै ठाउँमा छलफल गर्दै योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुदूरपश्चिमका दुई स्थानीय तहमा बहुक्षेत्रीय समन्वय समिति गठन गरिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा यस्तो समिति गठन गरिएको हो । नगरपालिकाभित्र स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, सामाजिक विकासलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाबीच समन्वय गरी एकद्वार प्रणालीबाट काम अघि बढाउन समिति गठन गरिएको हो ।
समितिले नियमित बैठकमार्फत नगरपालिकाका विभिन्न क्षेत्रका समस्या र आवश्यकता पहिचान गर्ने तथा सम्बन्धित निकायबीच समन्वय गरेर समाधानका लागि पहल गर्ने जनाइएको छ ।
पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले समिति गठनपछि विभिन्न क्षेत्रका विषयमा छलफल र समन्वय गर्न सहज भएको बताइन् । उनका अनुसार समितिको बैठकमार्फत कामको सुरुवातसमेत गरिएको छ ।
‘नगरपालिकाभित्रका विभिन्न क्षेत्रका विषयलाई छुट्टाछुट्टै रूपमा हेर्नुभन्दा सबै सरोकारवालालाई एउटै ठाउँमा राखेर छलफल गर्दा समस्या पहिचान र समाधानका लागि योजना बनाउन सहज भएको छ,’ नगर प्रमुख चलाउनेले भनिन् ।
त्यस्तै बाजुराको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण थापाले पनि बहुक्षेत्रीय समन्वय समितिले स्थानीय तहमा काम गर्न सहज बनाएको बताए । विभिन्न क्षेत्र र निकायबीच समन्वय बढ्दा योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रभावकारी हुने उनको भनाइ छ ।
समिति गठन तथा यसको कार्य सञ्चालनमा सामुदायिक विकास केन्द्र (CDC) डोटीले सहजीकरण गरेको छ । जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) को आर्थिक सहयोगमा सञ्चालित ‘लैंगिक रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना’ अन्तर्गत समितिलाई सहयोग गरिएको हो ।
परियोजनाले स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका सवाललाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्र बिच समन्वय र सहकार्य बढाउने उद्देश्यले काम गर्दै आएको जनाइएको छ ।
परियोजनाको अर्धवार्षिक समीक्षा बिहीबार अछामको साफेबगरमा सम्पन्न भएको छ । समीक्षाका क्रममा पञ्चदेवल विनायक र त्रिवेणी नगरपालिकामा गठन भएका बहुक्षेत्रीय समन्वय समितिको कामबारे समेत छलफल गरिएको थियो ।
समीक्षामा सहभागी सरोकारवालाले समितिले स्थानीय तहमा विभिन्न क्षेत्रका विषयलाई समेटेर समन्वयात्मक रूपमा काम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
सरोकारवालाका अनुसार यसअघि विभिन्न क्षेत्रका कार्यक्रम र गतिविधिबिच पर्याप्त समन्वय नहुँदा दोहोरोपन देखिने तथा आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्न कठिन हुने गरेको थियो । बहुक्षेत्रीय समन्वय समितिको अभ्यासले त्यस्ता समस्यालाई कम गर्दै स्थानीय आवश्यकताका आधारमा योजना तथा कार्यक्रम अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अर्धवार्षिक समीक्षा कार्यक्रममा परियोजनाअन्तर्गत भएका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो । सहभागीहरूले स्थानीय तह, समुदाय तथा सम्बन्धित सरोकारवालाबिचको समन्वयलाई थप बलियो बनाएर कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।


Advertisement

ad
  • पहाड खबर

  • २०८३ असोज ३ शनिबार
↑