ढकारी गाउँपालिकाद्वारा ४७ करोड ९ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक
४२ विद्यालयका विद्यार्थीलाई निःशुल्क स्कुल ड्रेस वितरण गरिने
-

-
पहाड खबर
- २०८३ असार १० बुधबार
अछाम । अछामको ढकारी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मिति २०८३ असार १० गते सम्पन्न गाउँसभाको १७औँ अधिवेशनको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहीले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गर्नुभएको हो।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदको सभाध्यक्षतामा सम्पन्न बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट तथा कार्यक्रम पेश गरिएको थियो। गाउँपालिकाले प्रस्तुत गरेको बजेटअनुसार चालु खर्चतर्फ ३५ करोड ४३ लाख ७६ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ११ करोड ६५ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार सिर्जना तथा सामाजिक सुरक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास, सुशासन तथा जनमुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य बजेटले लिएको छ।
त्यसैगरी अधुरा तथा बहुवर्षीय योजनालाई सम्पन्न गर्ने, विकास निर्माणका कार्यक्रमलाई परिणाममुखी बनाउने तथा सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने नीति अवलम्बन गरिएको गाउँपालिकाले जनाएको छ। पालिकाभित्र रहेका ४२ वटा विद्यालयका विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक (स्कुल ड्रेस) वितरण गर्ने कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ।
कृषि उत्पादन वृद्धि, युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने कार्यक्रम, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ। साथै सडक, भवन, सिँचाइ तथा अन्य भौतिक पूर्वाधार निर्माणका कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ।
उक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ का सम्पूर्ण प्रगति प्रतिवेदन, गाउँ कार्यपालिकाबाट भएका निर्णयहरू तथा विभिन्न नीति, कार्यक्रम र प्रस्तावहरू समेत पेश गरी पारित गरिएको थियो।
गाउँपालिकाले उपलब्ध स्रोतको प्रभावकारी परिचालन, वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै ‘समृद्ध ढकारी निर्माण’ अभियानलाई थप तीव्रता दिने जनाएको छ। गाउँसभामा प्रस्तुत बजेट तथा कार्यक्रममाथि छलफलपछि प्राप्त सुझावलाई समेट्दै आगामी दिनमा प्रभावकारी कार्यान्वयन प्रक्रिया अघि बढाइने गाउँपालिकाको भनाइ छ।

-

-
पहाड खबर
- २०८३ असार १० बुधबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








