ad

पञ्चदेवल विनायकमा राजनीतिक हलचल : एमाले र नेकपाका प्रभावशाली नेताहरू कांग्रेसमा प्रवेश

  • पहाड खबर

  • २०८३ जेठ २८ बिहीबार

अछामको पञ्चदेवल विनायक नगरपालिकामा राजनीतिक वृत्तमा ठूलो हलचल ल्याउने गरी नेकपा एमाले तथा नेकपाका प्रभावशाली नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेकपा एमालेका क्षेत्रीय सचिव शेर बहादुर बुढा, प्रदेश ‘क’ का अध्यक्ष बखत कडायत, नेकपाका प्रदेश सदस्य नरेन्द्र बोहरा ‘सनम’ तथा नेकपा नेता खडक टमट्टासहितका नेताहरू कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।
पञ्चदेवल विनायक नगर सभापति सज्जन बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सहमहामन्त्री अम्बिका चलाउने प्रमुख अतिथि तथा जिल्ला सभापति पुष्पबहादुर शाह विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले देशको वर्तमान राजनीतिक परिस्थितिमा स्थायित्व, विकास र लोकतान्त्रिक अभ्यासका लागि नेपाली कांग्रेस नै अबको वास्तविक राजनीतिक विकल्प भएको स्पष्ट धारणा व्यक्त गरे।
उनीहरूले पार्टी प्रवेशलाई व्यक्तिगत मात्र नभई जनताको विकास र समृद्धिको यात्रासँग जोडिएको निर्णय भएको उल्लेख गर्दै स्थानीय तहमा सुशासन, विकास निर्माण र जनसेवामा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।
प्रमुख अतिथि चलाउनेले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै कांग्रेस सबै विचार, वर्ग र समुदायलाई समेटेर अघि बढिरहेको पार्टी भएको बताउनुभयो। उहाँले लोकतन्त्रलाई संस्थागत गर्न संगठन विस्तार र जनसहभागिता अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, जिल्ला सभापति पुष्पबहादुर शाहले यो प्रवेशले पञ्चदेवल विनायक क्षेत्रमा कांग्रेस संगठन थप सशक्त र ऊर्जा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी अन्य नेताहरूले समेत नवप्रवेशीहरूको आगमनले स्थानीय राजनीतिक समीकरणमा नयाँ उत्साह थपिएको बताएका छन्।
यो प्रवेशसँगै पञ्चदेवल विनायक क्षेत्रमा कांग्रेसको संगठनात्मक उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ।


Advertisement

ad
  • पहाड खबर

  • २०८३ जेठ २८ बिहीबार