पञ्चदेवल विनायकका वरिष्ठ स्वास्थ्य अधिकृत बजगाईंको उपचारका क्रममा निधन
-

-
पहाड खबर
- २०८३ जेठ २२ शुक्रबार
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत लक्ष्मीकान्त बजगाईंको उपचारका क्रममा दुःखद निधन भएको छ।
पञ्चदेवल विनायक नगरपालिका–१ कुईका निवासी बजगाईं सुक्रबार बिहान खानेपानीको पाइपलाइन मर्मतका लागि जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका थिए।
नगरपालिकाको वडा नं. १ स्थित लाम्पाटामा खानेपानीको पाइपलाइन मर्मत कार्यका लागि जाँदै गर्दा दुर्घटनामा परेका बजगाईंको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
घटनापछि तत्काल जिल्ला अस्पताल मंगलसैनमा उपचारका लागि लगिएको भए पनि अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेत रिफर गरिएको थियो। सुर्खेतमा समेत थप उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएकोमा उपचारका लागि लैजाने क्रममा बाटोमै उनको निधन भएको हो।
स्वर्गीय बजगाईं स्वास्थ्य क्षेत्रमा लामो समयदेखि समर्पित अनुभवी स्वास्थ्यकर्मी, इमानदार राष्ट्रसेवक कर्मचारी तथा समाजसेवी व्यक्तित्वका रूपमा परिचित थिए। उनले पञ्चदेवल विनायक नगरपालिकाको स्वास्थ्य शाखामा रहेर मात्र नभई विभिन्न स्वास्थ्य संस्थाको प्रमुख तथा जिम्मेवार पदमा कार्यरत रहँदै दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए। स्वास्थ्य सेवा अभाव भएका गाउँबस्तीमा समेत उनले हजारौँ नागरिकको उपचार तथा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याएका थिए।
बजगाईंले पञ्चदेवल विनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत सम्हालेका थिए भने पञ्चदेवल विनायक नगरपालिका–१ का पहिलो वडा सचिवका रूपमा समेत सेवा दिएका थिए। उनको सरल स्वभाव, इमानदारी, सेवाभाव, कर्तव्यनिष्ठा र जनताप्रतिको समर्पणका कारण उनी स्थानीयवासी तथा सहकर्मीमाझ अत्यन्त सम्मानित र प्रिय व्यक्तित्व बनेका थिए।
जीवनभर अरूको स्वास्थ्य र जीवन बचाउन समर्पित एक स्वास्थ्यकर्मी आफ्नै जीवन रक्षाको संघर्षमा पराजित हुनुपरेको खबरले समग्र समुदायलाई स्तब्ध र भावुक बनाएको छ। सामान्य स्वास्थ्य सेवा र औषधिको सहाराले सयौँ–हजारौँ नागरिकको पीडा कम गर्ने व्यक्तित्व अत्याधुनिक उपचार सुविधाको पहुँचमा पुग्दासमेत जीवन जोगाउन नसक्नु नियतिको कठोर विडम्बनाका रूपमा हेरिएको छ।
उनको निधनसँगै पञ्चदेवल विनायक नगरपालिकाले एक अनुभवी कर्मचारी, स्वास्थ्य क्षेत्रले एक समर्पित स्वास्थ्यकर्मी तथा समाजले एक असल, इमानदार र सेवाभावी अभिभावक गुमाएको महसुस गरेको छ। उनले समाज र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, मानव सेवाप्रतिको समर्पण तथा उत्तरदायित्व सधैँ स्मरणीय रहनेछ।
-

-
पहाड खबर
- २०८३ जेठ २२ शुक्रबार
अपडेट
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न
पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन











