ad
पहाडखबर विशेष

समाजका लागि समर्पित कृष्ण ढकाल

  • पहाड खबर

  • २०८२ जेठ १९ आइतबार

अछाम -  सुदूरपश्चिमको  पहाडी अछामको जिल्लापूर्वी भेगमा अवस्थित कमलबजार कुनै समय सानो र सीमित दायरामा खुम्चिएको बजार मात्र थियो। साविकका बयला, मुली र ढाकु गाउँ विकास समितिको संगमस्थलको रूपमा चिनिने यो स्थान आज आफ्नो पुरानो पहिचानबाट निकै फराकिलो बनेको छ। यो अछामको अहिलेको एउटा महत्त्वपूर्ण नगरपालिका हो, जसले जिल्लाको इतिहास र भूगोललाई नयाँ आयाम दिएको छ।


Advertisement

पहिलेको इलाका नम्बर ११ को अधिकांश भूभाग समेटेर बनेको यो नगरपालिकामा अहिले इलाका नम्बर १२ का मष्टाबण्डाली र घोडासैनको आधा भाग पनि समावेश भएका छन्।

भौगोलिक रूपमा हेर्ने हो भने, इलाका नम्बर ११ का धमाली र आधा कुइका भने क्रमशः तुर्माखाँद र पञ्चदेवल विनायकमा गाभिएका छन्। यसरी वर्तमान कमलबजारको परिचय बजुणा, मुली र ढाकुको सिमानामा मात्र सीमित छैन। यो नगर अब चाइरादेखि कर्णालीसम्म फैलिएको छ। जुरु गाडदेखि कुइका गाडसम्म, र पाचुल्लीको विशाल लेकदेखि सुनघर मनघरसम्मका मनमोहक भूभागहरू यसै नगरपालिकाभित्र पर्छन्। यो भौगोलिक विस्तारले कमलबजारलाई अछामको एक महत्त्वपूर्ण र रणनीतिक केन्द्रको रूपमा स्थापित गरेको छ।

कमलबजार नगरपालिका धार्मिक र ऐतिहासिक रूपमा पनि आफैँमा विशिष्ट छ। अछाम जिल्लाको संस्थापक भूगोलको रूपमा चिनिने केही स्थानहरू यसै नगरपालिकाभित्र पर्छन्। प्राचीन अछामको प्रशासनिक भूगोलका 'नौ खुवा' मध्येको एक महत्त्वपूर्ण खुवा, 'कुइका', पनि कमलबजार नगरपालिकाभित्रै पर्दछ। यसले यस क्षेत्रको प्राचीनता र ऐतिहासिक जरालाई सङ्केत गर्छ।

यस नगरपालिकाभित्र थुप्रै मठ-मन्दिरहरू छन्, जसले यसको धार्मिक महत्त्वलाई अझ बढाउँछन्। श्री मङ्गलासैनी देवी, श्री बरपिपल कालिका देवी, श्री दक्षिण कालिका, श्री नौघाटे माइ, श्री जालपादेवी, श्री चक्रेस्वरी ,श्री बण्डाली, श्री दवागणो मष्टो, श्री ओखलढुङ्गा बण्डाली, श्री देउती बजै, श्री केदार देवता, श्री विरकटेल, र श्री सात सय लवागुर्जो देवताका मठ-मन्दिरहरूले यो नगरलाई धार्मिक आस्थाको केन्द्र बनाएका छन्। यी मन्दिरहरूले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्, र स्थानीयहरूका लागि यी आस्थाका धरोहर हुन्। साथै, कमलबजार विभिन्न जातजातिको उद्गमस्थलका रूपमा पनि चिनिन्छ, जसले यसको सांस्कृतिक विविधतालाई झल्काउँछ र यसलाई अझ विशेष बनाउँछ।

यति धेरै विशिष्ट भौगोलिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको कमलबजार सेरोफेरोले पाउनुपर्ने जति पहिचान र सम्मान अझै पाउन सकेको छैन। विगतमा यस क्षेत्रमा धेरै काम भएको सुनिन्छ, तर पछिल्लो समयमा स्थानीय स्तरबाटै ऐतिहासिक पाटोको उजागर गर्नमा उदासीनता देखिएको छ। धेरै स्थानीयले यहाँको भूगोलको ऐतिहासिक पाटोको उजागर गर्न खासै रुचि राखेका छैनन्, जसले गर्दा यसको समृद्ध इतिहास ओझेलमा परेको छ। यसले गर्दा यस क्षेत्रको लुकेको महत्त्व बाहिर आउन सकेको छैन।

तर, यो उदासीनताका बीच कमलबजार नगरपालिका-१, मुलीका कृष्ण प्रसाद ढकाल एक प्रेरणादायी अपवाद बनेका छन्। उनले ऐतिहासिक पाटोको उजागर गर्ने सवालमा देखाएको सक्रियता वास्तवमै प्रशंसनीय छ। उनको अथक प्रयासको फलस्वरूप, मुलुकभरका ढकालहरूले आफ्नो उद्गमस्थल ढाकुलाई मात्रै चिनेनन्, कमलबजार र अछामसँग पनि भावनात्मक रूपमा जोडिएका छन्। उनको सक्रियताको प्रतिफल अहिले स्पष्ट देख्न सकिन्छ। भारतको सिक्किमदेखि आसामसम्मका ढकालहरू ढाकु खोज्दै कमलबजार आइरहेका छन्। भुटान र बर्मामा रहेका ढकालहरूले समेत ढाकुको बारेमा सोधखोज गरिरहेका छन्। सात समुद्र पारि पुगेका ढकालहरू पनि कमलबजार र ढाकुको बारेमा जान्न खोजिरहेका छन्, जसको सबैभन्दा बढी श्रेय कृष्ण प्रसाद ढकाललाई जान्छ। उनको प्रचारप्रसार र सक्रियताले कमलबजारलाई विश्वसामु चिनाउन ठूलो भूमिका खेलेको छ, र यसले स्थानीय पर्यटन र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण टेवा पुर्‍याएको छ।
कसैका लागि कुरा गर्नु र आलोचना गर्नु जति सजिलो हुन्छ, त्यसमा खासै मिहिनेत हुँदैन। वास्तविक मिहिनेत र त्यसको महत्त्व पसिना बगाउनेलाई मात्र थाहा हुन्छ। ढाकु, कमलबजार र अछामलाई चिनाउन एक व्यक्तिले गरेको अथाह मिहिनेतलाई शब्दमा व्यक्त गर्न सायदै सकिएला।
शिक्षकको जागिरबाट राजीनामा दिएर, आफ्नो व्यापार-व्यवसाय चटक्कै छाडेर, र आफ्नो पेन्सनको रकम खर्च गरेर उनले मुलुकभर धेरै दौडधुप गरेका छन्। उनको यो दौडधुप ढाकु, कमलबजार र अछामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि समर्पित थियो। कमलबजारलाई चिनाउन उनले कैयौं दिन, महिना र वर्षहरू यसैमा खर्च गरेका छन्। आफ्नो ठाउँको गरिमा बढाउन उनले कम्ती पसिना बगाएका छैनन्। शारीरिक रूपमा हिँडडुल गर्न कठिन हुँदा पनि उनले कहिल्यै विश्राम लिएनन्। घाम-पानी केही नभनी देशका हरेक कुना-कन्दरामा उनी पुगे। उनको सक्रियता कम भएको छैन ।

उनले दौडधुप मात्र गरेका छैनन । ढकाल समाज अछामका अध्यक्ष रहेका उनले ढकाल वंशको वंशावली समेत तयार पारेका छन । हाल त्यसलाई सुझाव संकलन गरी परिमार्जन तथा सुधार गर्ने कार्यमा संलग्न हुनुहुन्छ। पहिले तयार पारेर प्रकाशित गरिएको वंशावली अहिले संशोधन र परिमार्जनको चरणमा छ, जसलाई छिट्टै पुनः प्रकाशित गर्ने तयारी गरिएको छ।

यस वंशावलीको केन्द्रमा कमलबजारको ढाकु क्षेत्र रहेको छ। ढाकुले केवल ढकाल वंशका लागि मात्र होइन, कमलबजार र सम्पूर्ण अछाम जिल्लाको पहिचान, इतिहास, र गौरवलाई समेत उजागर गर्ने गरी यो दस्तावेजले महत्वपूर्ण भूमिका खेल्नेछ।

यो प्रयासले अछामको समृद्ध सांस्कृतिक सम्पदा, सामाजिक संरचना, र ऐतिहासिक पृष्ठभूमिलाई दस्तावेजीकृत गर्दै प्रचारप्रसारमा समेत ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

अछामको कमलबजार स्थित ढाकुमा २०८० फागुनमा सम्पन्न महायज्ञले त्यस क्षेत्रको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उकास्न ठूलो भूमिका खेलेको छ। महायज्ञको मुल आयोजक सह संयोजनको परिभाषित जिम्मेवारी लिएर उनले खेलेको भूमिकाको प्रतिफलस्वरू ढाकुमा आयोजित  महायज्ञमा देशविदेशबाट ढकालहरूको उल्लेख्य उपस्थिति रह्यो। यो महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई ढकालहरूको पुस्तौंदेखिको सम्बन्धलाई जोड्ने एउटा कडी बन्यो।

महायज्ञपछि पनि ढकालहरूको कमलबजारस्थित ढाकुमा निरन्तर आवतजावत भइरहेको छ। यसले कमलबजार र समग्र अछामको प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको छ। पुस्तौंअघि अछाम छोडेर गएका ढकालहरूका पछिल्ला पुस्ताका सन्ततिहरूको अछामसँगको धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध उक्त महायज्ञ पछि झनै प्रगाढ भयो ।  महायज्ञले अछामको सामाजिक र सांस्कृतिक पुनर्जागरणमा नयाँ आयाम थप्यो , जसले  कमलबजार क्षेत्रको गरिमालाई अझ उँचो बनायो ।

बहुआयामिक ब्याक्तित्वका धनी कृष्ण प्रसाद ढकालले कमलबजार लाइ चिनाउन गरेका प्रयास यत्तिकैमा सिमित छैनन । उनि एक साथ ऐतिहासिक , धार्मिक , सांस्कृतिक , सामाजिक र राजनीतिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन । उनका हरेक गतिविधिको केन्द्रमा हुन्छ कमलबजार , अछाम ।ढकाल वंशका छरिएर रहेका संस्थाहरूलाई एउटै छातामुनि एकत्रित गरी ढकाल वंश महासंघ निर्माण गर्ने अभियानमा उनको पनि सक्रिय भूमिका रहेको छ।

ढकाल वंश महासंघको गठनपश्चात्, देश–विदेशमा छरिएर रहेका सम्पूर्ण ढकालहरूको भव्य भेला पुर्ख्यौली थलो ढाकुमा आयोजना गर्ने उहाँको विशेष योजना रहेको छ। यस भेला कार्यक्रमको मूल उद्देश्य ढकाल समुदायलाई आफ्नै उद्गम थलो ढाकुसँग जोड्नु मात्र नभई, त्यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई उजागर गर्नु हो।
साथै, यस आयोजनामार्फत कमलबजार र समग्र अछाम जिल्लाको  प्रवर्द्धन गर्ने लक्ष्य समेत उनले राखेका छन्।

यो पहल न केवल ढकाल वंशबीचको एकता र पहिचान सुदृढ गर्ने मार्ग हो, तर यसले ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने पनि निश्चित छ। कमलबजार यस अभियानको केन्द्र बिन्दुका रूपमा अझ व्यापक रूपमा चिनिने सम्भावना यसबाट खुलेको छ।

ढकालको जीवनको ठूलो हिस्सा शिक्षण पेशामा बित्यो। २० वर्ष स्थायी र १२ वर्ष २ महिना अस्थायी गरी उनले प्राथमिक तहको सरकारी विद्यालयमा कुल ३२ वर्ष सेवा गरे। तर, उनको परिचय यतिमा मात्र सीमित छैन। शिक्षणसँगै उनले व्यापारिक क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्।

हाल ढाकु ,  कम्मलबजार र अछाम चिनाउने अभियानमा सक्रिय उनले आफ्नो पारिवारिक व्यवसायको जिम्मा छोरा र बुहारीलाई सुम्पेका छन्। उनीहरूको पसलमा गाउँघरमा आवश्यक सानातिना सामानदेखि कम्प्युटरका हार्डवेयरसम्म उपलब्ध हुन्छन्। ढकालका दुईवटा उद्योग पनि छन्, जहाँ छापाखाना र फ्लेक्सको काम हुन्छ।
कम्मलबजार क्षेत्रमा सौर्य ऊर्जाको सहायतामा सूचना प्रविधिको सेवा सुरु गर्ने श्रेय ढकाललाई नै जान्छ। उनको कम्प्युटर इन्स्टिच्युट अहिले पनि नियमित रूपमा सञ्चालनमा छ। वास्तवमा, कम्मलबजारका आम नागरिकसम्म सूचना प्रविधिको पहुँच पुर्‍याउने काम ढकाल बाबुछोराले नै गरेका हुन्। शिक्षण पेशा बाट अवकाश पाए पनि ढकालको सक्रियता र उद्यमशीलताले कमलबजारको आर्थिक र प्राविधिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

उनको परिचय केवल एक निश्चित भूमिकामा मात्र सीमित छैन । उनको सामाजिक कामको दायरा फराकिलो छ । विभिन्न सामाजिक काम हरुमा देखिने उनको उपस्थिति, समर्पण र सक्रियता बहुआयामिक छ ।

हाल उनी व्यापारी तथा उद्यमी वर्गको हकहितका लागि पनि विशेष सक्रिय छन् । व्यापारी समुदायका समस्याहरू उठान गर्न, समाधानका उपाय खोज्न र नीतिगत तहसम्म आवाज पुर्‍याउन उनी निरन्तर दौडधुप गरिरहेका हुन्छन । अछाम उद्योग वाणिज्य संघको पदाधिकारी बनेसँगै उनको अभियानले संस्थागत स्वरूप पाएको हो ।

दुइ कार्यकाल अछाम उद्योग वाणिज्य संघका सचिव उनको नेतृत्वमा संघीय संरचना अनुसार गठन गरिएको कमलबजार नगर उद्योग वाणिज्य संघको ससंस्थापक अध्यक्षको रूपमा उनि सामाजिक कामा निरन्तर सक्रिय छन । अहिले उनी कमलबजार नगर उद्योग वाणिज्य संघको अध्यक्षको परिभाषित जिम्मेवारीका हिसाबले समग्र नगरको विकास र व्यवसायीको हकहित, र उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन । उनले भनेका छन्, “म कमलबजारको निरन्तर सेवा गरिरहेको छु, आफ्नो ठाउँमा काम गर्न पाउनु नै मेरो लागि सौभाग्य हो।” यो भनाइमा उनको आत्मीयता मात्र होइन, सेवा गर्ने दृढ संकल्प पनि स्पष्ट झल्किन्छ । उनी उद्यमशीलताको प्रवर्द्धनका लागि केवल भाषण र उद्घोषमा सीमित रहने व्यक्तिमा पर्छन् भनेर बुझ्नु गलत हुन्छ । किनभने उनले व्यवहारमै उदाहरणीय योगदान पुर्‍याएका छन् ।

उद्यम प्रवर्द्धनका लागि व्यक्तिगत लगानी गर्न पनि उनी पछि पर्दैनन् । कमलबजार विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको दुई रोपनी जग्गा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणका लागि दान गर्नु यसको ठोस प्रमाण हो । करिब ५० लाख रुपैयाँ बराबरको मूल्य पर्ने उक्त जग्गा व्यापार र कृषि उत्पादनको भण्डारण सहज बनाउने उद्देश्यले संस्थालाई हस्तान्तरण गरे । यो कार्यमार्फत उनले “बोलेर मात्र होइन, नेतृत्व लिनेलाई योगदान दिनुपर्छ” भन्ने कुरा व्यवहारमै देखाएका छन् ।

उनको यो योगदानले न केवल नगरस्तरको विकास प्रयासलाई टेवा पुर्‍याएको छ, तर अन्य नेतृत्व तहमा रहेका व्यक्तिहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ । व्यावसायिक पूर्वाधारको विकासका लागि उनको व्यक्तिगत लगानी र प्रतिबद्धता साँच्चिकै उदाहरणीय छ ।
कृष्णप्रसाद ढकालको जीवन यात्रा ऐतिहासिक तथ्यको उत्खनन, शिक्षण पेशा, राजनीति, व्यापार र सामाजिक सेवाको बहुआयामिक अनुभवले भरिएको छ । उनी त्यस्ता व्यक्तित्व हुन्, जसले जीवनका हरेक मोडमा समाज र राष्ट्रलाई केन्द्रमा राखेर काम गरेका छन् ।सरकारी जागिरमार्फत लामो समय राष्ट्रसेवामा संलग्न रहेका ढकालको राजनीतिक चेतको बीउ भने विद्यालय जीवनमै रोपिएको थियो । नेपालगञ्जस्थित मंगलप्रसाद (एमपी) माविमा अध्ययन गर्दाको पञ्चायती कालमै उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका थिए । किशोर उमेरमै बहुदलीय प्रजातन्त्रको पक्षमा जनचेतना फैलाउने कार्यमा लागेका ढकाल त्यही समयदेखि परिवर्तनको यात्रामा समर्पित देखिन्छन् ।

प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण गरेपछि उनले शिक्षण पेशा अँगाले । शिक्षण क्रममा उनी शिक्षक संगठनहरूमा संलग्न रहँदै शिक्षकको हक–हितका मुद्दामा क्रियाशील भए । त्यतिबेला उनी शिक्षक राजनीतिमा सक्रिय थिए भने वर्तमानमा उनी नेपाली कांग्रेसको प्रत्यक्ष राजनीतिमा योगदान दिइरहेका छन् ।

नेपाली कांग्रेसको १२औं महाधिवेशनमा उनी पहिलोपटक महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए । त्यसपछि १३औं र १४औं महाधिवेशनमा समेत प्रतिनिधिका रूपमा चयन भई उनले लगातार तीन पटक पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्ने अवसर पाए । यसरी पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा निरन्तर सक्रिय उनी संगठनको सुदृढीकरणमा लागिपरेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला उनी साविकको कुन्ती गाविसअन्तर्गत सुवाखाड मतदान केन्द्रमा खटिएका थिए । स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने उद्देश्यले स्थानीय तहमा खटिएका ढकाल तनावपूर्ण परिस्थितिमा हस्तक्षेप गर्दा हिंसात्मक हमलाको शिकार बने । दुईतले घरबाट धकेलिँदा गम्भीर घाइते भएका उनी खुट्टाको शल्यक्रियामा पुगे । त्यसपश्चात् उनको खुट्टा पहिलेको जस्तो रहन सकेन ।

शारीरिक अपाङ्गता आएपछि पनि उनले हिम्मत गुमाएनन्, बरु त्यसलाई आफ्नो सेवा यात्राको अर्को अध्याय बनाए । उनि त्यसपछि अपांगता तथा असक्तता भएका नागरिकहरूको जीवनमा समान अवसर, पहुँच र गरिमायुक्त जीवन सुनिश्चित गर्ने अभियानमा पनि होमिए।यतिबेला उनी नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक अपांग संघको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । संगठनमार्फत अपांग व्यक्तिहरूको आवाजलाई नीतिगत तहमा पुर्‍याउन र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उनी निरन्तर लागिपरेका छन ।यतिबेला उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक अपांग संघको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्। संगठनमार्फत अपांग व्यक्तिहरूको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले उनी निरन्तर सक्रिय छन्।

उनका समर्थक र शुभेच्छुक त साथ दिने नै भए, तर ढकालको लोभलाग्दो सक्रियता, लगनशीलता र निरन्तरको दौडधुप देखेर उनका आलोचकले समेत प्रशंसा गर्न थालेका छन ।

शालिन र शिष्ट स्वभावका कृष्णप्रसाद ढकाल जिम्मेवारी लिन कहिल्यै हिचकिचाउँदैनन्। समुदायले दिएको दायित्वलाई आत्मसात गर्दै सधैं तत्परताका साथ अघि बढ्ने उनको स्वभाव बनिसकेको छ। त्यसैले उनी अहिले पनि फरक–फरक क्षेत्रका विभिन्न जिम्मेवारी एकसाथ सफलतापूर्वक निर्वाह गरिरहेका छन्।

ऐतिहासिक तथ्यको उत्खनन, शिक्षण पेशा, राजनीति, व्यापार र सामाजिक सेवाको बहुआयामिक अनुभव समेटेका ढकालको एउटै सपना छ—कमलबजार क्षेत्रको सेवा र प्रवर्द्धनमा निरन्तर लागिरहने। सक्रिय राजनीतिमा रहेका उनी भविष्यमा नीतिनिर्माण तहमा पुगेपछि समाजलाई उद्यमसँग जोड्ने योजना बाँड्छन्।

उनको सोच स्पष्ट छ—स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योग र कृषि उत्पादनलाई अर्गानिक रूपमा विस्तार गर्दै पूर्ण रूपमा व्यवसायिक बनाउने। उनी भन्छन्, “घरेलु उद्योग र कृषि उत्पादनलाई स्वरोजगारसँग जोड्न सके हामीले किनेर खानुपर्दैन।” उनका अनुसार, हाम्रा पुर्खाहरू आत्मनिर्भर थिए—उनीहरू आफू मात्र होइन, अरूलाई पनि पाल्थे।

“हामीले पनि पुर्खाको बाटो पछ्याउनु जरुरी छ,” उनले थपे, “ऐतिहासिक पाटोको उत्खनन गर्दा मैले हाम्रा पूर्खाहरू परनिर्भर थिएनन् भन्ने तथ्य पाएको छु। अब हामीले पनि विगतबाट ज्ञान लिएर वर्तमानमा लागू गर्न पछि पर्नु हुँदैन।”

सामाजिक स्वरोजगार अभियानको थालनी उनी आफ्नै गाउँ मुलीबाट गर्दैछन्। पहिलो चरणमा आगामी वर्षदेखि स्थानीय सुन्तलाको ब्राण्डिङ सुरु गर्ने तयारीमा छन्। उनले सपना देखेका छन । मुलीका हरेक किसानको खातामा कम्तीमा पाँच लाख रुपैयाँ बचत हुने वातावरण सिर्जना गर्ने। उनले भने -  "काम गर्ने इच्छाशक्ति म संग छ । जिम्मेवारी पाए सपना लाइ यथार्थमा परिणत गर्न सकिन्छ । "

उहाँको समर्पण र लगनशीलताले कमलबजारलाई आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा अगाडि बढाउन मद्दत पुर्‍याएको छ।  कमलबजारको उज्ज्वल भविष्य निर्माणमा सक्रिय भूमिका खेल्दै ढकालले स्थानीय पहिचानलाई सशक्त बनाउने काम निरन्तर गरिरहेका छन । कृष्णप्रसाद ढकालको भूमिकाले कमलबजारको प्रवर्द्धनमा  महत्त्वपूर्ण भूमिका खेलेको छ।

ad
  • पहाड खबर

  • २०८२ जेठ १९ आइतबार
↑